धर्मसंस्कृति विवादमा मधेशमा सुरक्षा सतर्कता बढ्यो

मधेश प्रदेशमा टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी भएपछि तनाव बढेको छ। धनुषा घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

धनुषा, पर्सासहित मधेशका आठै जिल्ला उच्च सुरक्षा सतर्कतामा राखिएका छन्। एक उच्च सुरक्षा अधिकारीले “संवेदनशील परिस्थिति”का कारण सतर्कता बढाइएको बताएका छन्।

केही दिनअघि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारीले हिन्दुस्तानको नाम उल्लेख गर्दै धार्मिक सहिष्णुतामा खलल पुग्ने खालको टिकटक भिडियो पोष्ट गरेका थिए। स्थानीय अगुवाहरूले उनीहरूलाई प्रहरीको जिम्मा लगाएका थिए।

धनुषाको इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल भइरहेका बेला केही युवाहरू आक्रोशित भएका र मस्जिदमा आक्रमण भएको थियो। आक्रमणमा संलग्न व्यक्तिलाई पनि पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले जानकारी दिए।

सोही घटनालाई लिएर वीरगञ्जमा आज बिहानैदेखि प्रदर्शन भइरहेको छ। प्रहरी र स्थानीय तहले शान्तिपूर्ण वातावरण कायम राख्न निगरानी बढाएका छन्।