काठमाडौं । नेपालको अर्थतन्त्र रुपान्तरणको चरणमा प्रवेश गरिरहेको वर्तमान सन्दर्भमा स्टार्टअप र प्रविधिमैत्री उद्यमशीलता विकासको मूल आधार बन्दै गएको छ। यस प्रक्रियामा महिलाको सक्रिय, सक्षम र नेतृत्वदायी सहभागिता बिना समावेशी तथा दिगो आर्थिक विकास सम्भव नहुने सरोकारवालाहरूले औंल्याएका छन्।
नीति रिसर्च प्रा.लि.को आयोजनामा सम्पन्न ‘स्टार्टअपमा महिला : अवसर, चुनौती र आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नीति रिसर्च प्रा.लि.का निर्देशक वासुदेव न्यौपानेले पछिल्लो समय स्टार्टअप क्षेत्रमा महिलाले हासिल गरेका उपलब्धि उत्साहजनक भए पनि संरचनागत चुनौती अझै गहिरो रहेको बताए। अवसरसँगै महिलाले भोग्दै आएका समस्या पनि उस्तै जटिल रहेको उनको भनाइ छ। वित्तीय पहुँचको अभाव, कर्जा प्रक्रियामा धितोको समस्या, नीतिगत जटिलता, सामाजिक सोच र पारिवारिक जिम्मेवारी महिलाका लागि प्रमुख चुनौती बनेका छन्। यी समस्या महिलाको क्षमता कमजोर भएर होइन, प्रणाली र संरचनामा रहेको असमानताका कारण उत्पन्न भएको उनले स्पष्ट पारे।
निर्देशक न्यौपानेका अनुसार अहिलेको नेपाली अर्थतन्त्र रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनको चरणमा रहेको छ, जहाँ महिला उद्यमशीलताको भूमिका झनै महत्वपूर्ण हुन्छ। महिलाले सञ्चालन गर्ने साना तथा मझौला उद्यमले स्थानीय स्रोतसाधनको उपयोग, स्वरोजगार र समुदायस्तरको आर्थिक सशक्तीकरणमा प्रत्यक्ष योगदान पुर्याइरहेका छन्।
कार्यक्रममा उनले महिला उद्यमशीलताको दिगो विकासका लागि स्पष्ट उपायहरू पनि प्रस्तुत गरे। महिलामैत्री नीति निर्माण, सहज र पहुँचयोग्य स्टार्टअप कर्जा, सीपमूलक तथा प्रविधिमैत्री तालिम, बजार पहुँच, परामर्श सेवा र व्यवसायिक नेटवर्क विस्तार आजको आवश्यकता भएको उनको जोड थियो। विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका महिलालाई लक्षित कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनले बताए।
निर्देशक न्यौपानेले स्टार्टअप उद्यम, वैकिंग, बिमा ,पर्यटन र उर्जालाई समेटी तयार पार्ने आर्थिक बिकास नवाप्रबर्तन र समृद्द नेपालका पाच आधारधिला ” आयाम ” नामक कार्यक्रम नेपालका सातै प्रदेशमा गर्ने घोसणा समेत गरेका छन् । “यी कार्यक्रम केवल छलफलमा सीमित हुने छैनन्, नीति निर्माणदेखि कार्यान्वयनसम्म योगदान पुर्याउने उद्देश्यसहित अघि बढाइनेछ,” उनले भने।
मिडिया तथा अनुसन्धानमूलक संस्थाका रूपमा नीति रिसर्च प्रा.लि.ले नेपालको समसामयिक राजनीति, अर्थतन्त्र, उद्योग, रोजगारी र नीति निर्माणसँग सम्बन्धित विषयमा निरन्तर अनुसन्धान गर्दै तथ्य र प्रमाणका आधारमा सार्वजनिक बहस सिर्जना गर्दै आएको उनले बताए।
कार्यक्रममा उठेका धारणा अनुसार स्टार्टअप क्षेत्रमा महिलाका अवसर बढ्दै गए पनि चुनौती समाधानका लागि राज्य, निजी क्षेत्र, वित्तीय संस्था र समाजबीचको साझा प्रयास अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ। महिला उद्यमशीलता सशक्त बने मात्र नेपालको अर्थतन्त्र समावेशी, आत्मनिर्भर र दिगो दिशामा अघि बढ्ने सहभागीहरूको साझा धारणा रहेको छ।
