सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ मा पहिचान गरिएको ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमै निर्माण गर्ने गरी लगानी ढाँचा (मोडालिटी) तयार भएको छ। निर्माण अवधिको ब्याजसहित आयोजनाको अनुमानित लागत ९७ अर्ब ९४ करोड रुपैयाँ रहेको छ।
आयोजना सरकार तथा सरकारी निकाय संस्थापक रहेको विद्युत उत्पादन कम्पनी लिमिटेडले आफैं निर्माण गर्नेछ। तयार गरिएको वित्तीय मोडालिटीअनुसार कुल लागतको ७० प्रतिशत अर्थात् ६८ अर्ब ५५ करोड रुपैयाँ ऋणबाट र बाँकी ३० प्रतिशत अर्थात् २९ अर्ब ३८ करोड रुपैयाँ स्वःपूँजी (इक्विटी)बाट जुटाइनेछ।
ऋण व्यवस्थापनका लागि हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी (एचआइडिसिएल), कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनीहरू तथा बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरण गर्ने प्रस्ताव गरिएको छ।
इक्विटी हिस्सा भने कम्पनीका संस्थापक, गैरआवासीय नेपाली तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दा, अतिविपन्न परिवारका सदस्य र सर्वसाधारणलाई सेयर निष्कासन गरी संकलन गरिनेछ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले वित्तीय विश्लेषणसहित तयार पारिएको लगानी मोडालिटीको जानकारी लिँदै आयोजनाको अनुमानित लागत अद्यावधिक गरी तत्काल वित्तीय व्यवस्थापनको प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। विद्युत उत्पादन कम्पनीसँग लाइसेन्स भए पनि कुनै आयोजना निर्माणमा जान नसकेको उल्लेख गर्दै उनले दीर्घकालीन आम्दानी र संस्थागत दिगोपनका लागि किमाथाङ्का अरुण आयोजना कम्पनी आफैंले निर्माण गर्नुपर्ने बताए।
मन्त्री घिसिङले प्रस्तावित लगानी ढाँचा र त्यसअनुसारको संस्थागत इक्विटी योजना तत्काल कम्पनी सञ्चालक समितिबाट पारित गरी पेश गर्न निर्देशन दिएका छन्।
आयोजनाको अध्ययन तथा पूर्वनिर्माणमा हालसम्म ७३ करोड १४ लाख रुपैयाँ खर्च भइसकेको छ। आयोजना कार्यालय र कर्मचारी आवास (क्याम्प) निर्माणका लागि जग्गा अधिग्रहण सम्पन्न भइसकेको छ। बाँध, जलाशय, विद्युतगृहलगायत संरचनाका लागि आवश्यक जग्गा अधिग्रहणको मुआब्जा तथा क्षतिपूर्ति निर्धारण भइसकेको छ, जसका लागि करिब ४५ करोड रुपैयाँ लाग्ने अनुमान छ।
किमाथाङ्का अरुण आयोजनाबाट वार्षिक २ अर्ब ६९ करोड युनिट (२६९०.९७ गिगावाट आवर) विद्युत उत्पादन हुनेछ। यसमध्ये हिउँद यामको पिक ऊर्जा ४७ करोड ३१ लाख युनिट, अफ–पिक ३५ करोड ३३ लाख युनिट र वर्षायामको १ अर्ब ८६ करोड ४६ लाख युनिट रहनेछ। उत्पादित विद्युत बिक्रीबाट वार्षिक करिब १६ अर्ब ९१ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।
विद्युत उत्पादन कम्पनी लिमिटेडमा सरकारको ३० प्रतिशत, नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष तथा नेपाल टेलिकमको १०–१० प्रतिशत, नागरिक लगानी कोषको ५ प्रतिशत, एचआइडिसिएलको ४ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको २ प्रतिशत संस्थापक सेयर स्वामित्व रहेको छ। बाँकी २९ प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको छ।
