इक्यान सचिवमा एलबी तामाङको अग्रसरता

शैक्षिक परामर्श व्यवसायीहरूको साझा संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रीय सचिव पदका लागि एलबी तामाङले उम्मेदवारी घोषणा गरेका छन्। विगत डेढ दशकदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय तामाङले आउँदो पुस २८ गते हुने इक्यानको नयाँ नेतृत्व चयनका लागि औपचारिक रूपमा मैदानमा उत्रिएको घोषणा गरेका हुन्।

शैक्षिक परामर्श क्षेत्रका सकारात्मक र नकारात्मक दुवै पक्षलाई नजिकबाट बुझ्दै आएको अनुभवका आधारमा आफू समग्र इक्यानीयन व्यवसायीहरूको साझा उम्मेदवार भएको तामाङको दाबी छ। निर्वाचनलाई समूहगत प्रतिस्पर्धाभन्दा माथि राख्दै उनले इक्यानको इतिहास, मूल्य र लिगेसीलाई आत्मसात् गर्दै वर्तमान आवश्यकताअनुसार भविष्यको स्पष्ट खाका प्रस्तुत गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्।

“इक्यानको गिर्दो साख जोगाउँदै यसलाई सबै शैक्षिक परामर्श व्यवसायीहरूको साझा र भरोसायोग्य संस्था बनाउने लक्ष्यका साथ म उम्मेदवारी लिएर आएको हुँ,” तामाङले भने, “विगतमा हासिल गरेको अनुभव र सिकाइलाई अब संस्थागत सुधार र व्यवसायीहरूको हकहितका लागि प्रयोग गर्ने समय आएको छ।”

तामाङले शैक्षिक परामर्श क्षेत्रको व्यवसायिकता, नैतिकता र इमान्दारितामाथि भइरहेका चुनौतीहरूको सन्दर्भ उल्लेख गर्दै प्रत्येक व्यवसायीले आत्मसम्मानपूर्वक काम गर्न पाउने वातावरण निर्माण आफ्नो प्रमुख एजेण्डा रहेको बताएका छन्। साथै, राज्यका अनुगमन तथा नियमन प्रक्रियालाई व्यवसाय र कानुनमैत्री बनाउने, विदेशी अध्ययनमा जाने विद्यार्थी मात्र नभई अभिभावक र विदेशी नियोगहरूसँगको सम्बन्धलाई पनि व्यवसायीमैत्री बनाउने विषयलाई प्राथमिकतामा राख्ने उनको प्रतिबद्धता छ।

संस्थागत सुशासन, पारदर्शिता, मितव्ययिता, जवाफदेहिता र प्रविधिमैत्री इक्यान निर्माणमा सक्रिय भूमिका खेल्ने उल्लेख गर्दै तामाङले राजधानी केन्द्रित नभई देशका सबै भूगोलमा रहेका इक्यान सदस्यहरूको साझा सचिवका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “सबल, सक्षम र पारदर्शी इक्यान, सम्पूर्ण व्यवसायीहरूको उत्थान” उनको मूल नारा रहेको छ।

पुस २८ गते हुन गइरहेको इक्यान निर्वाचनमा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष एन्ड्रयू पौडेल र महासचिव दीपकराज भुसालबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिएको छ। यस्तो अवस्थामा सचिव पदका लागि एलबी तामाङको उम्मेदवारीले निर्वाचनलाई थप चासो र बहसको विषय बनाएको छ।