नेपाल चेम्बर अफ कमर्सले उद्योग दर्तादेखि संचालनसम्म एकद्धार प्रणाली लागू गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाको ध्यानाकर्षण गराएको छ। चेम्बरका अनुसार मुलुकमा औद्योगिक र व्यवसायिक वातावरण निर्माणका लागि नीतिहरूमा सहजता आवश्यक छ।
काठमाडौं, जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा मन्त्री सिन्हासमक्ष चेम्बरले स्थानीय तह, प्रदेश र संघबीच अधिकार क्षेत्र स्पष्ट पारेर दोहोरो कर र अनुमति पत्र हटाउने पहल गर्न आग्रह गरेको छ।
चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले उद्यमीहरूको मनोबल बढाउन सुरक्षाको प्रत्याभूति आवश्यक रहेको बताए। उनले बीमाको विस्तृत दायरासहित आन्तरिक लगानी प्रवर्द्धन र सुरक्षा नीति लागू गर्न जोड दिएका छन्। रेमिट्यान्सलाई उत्पादनमुखी अर्थतन्त्रमा ल्याउन सरकारी नीति स्पष्ट हुनुपर्नेमा पनि उनले बल दिएका छन्।
अग्रवालले नेपालको औषत औद्योगिक क्षमता उपयोग खस्किएको विषयमा पनि ध्यानाकर्षण गराएका छन्। नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन अनुसार आ.व. ०८१/०८२ मा औषत औद्योगिक क्षमता उपयोग ४४.५% मात्र भएको छ, जुन अघिल्लो वर्षको ४८.३% बाट घटेको हो।
उद्योग, व्यापार र लगानीसम्बन्धी नीतिहरूमा बारम्बार परिवर्तन नहुने स्पष्ट प्रतिवद्धता सरकारबाट आउनुपर्ने अग्रवालको धारणा छ। आर्थिक कुटनीतिको माध्यमबाट विश्वबजारको खोजी गर्न र निर्यातकर्तालाई निर्यात अनुदान सुनिश्चित गर्नुपर्ने उनको आग्रह थियो।
मन्त्री सिन्हाले सरकार औद्योगिक र व्यवसायिक वातावरण निर्माणमा सहजीकरणको प्रयासमा रहेको बताए। निजी क्षेत्र र आम सेवाग्राहीलाई प्रशासनिक तथा नीतिगत झन्झट कम गर्न सरकारले काम गरिरहेको उनले स्पष्ट पारे। निर्यात अनुदानमा लागेको रोक खुलाउन, बजार अनुगमन प्रक्रियामा व्यवसायीलाई दु:ख नपुग्ने व्यवस्था गर्न र स्वदेशी लगानीको सुरक्षा सुनिश्चित गर्न सरकार गम्भीरतापूर्वक लागिपरेको मन्त्री सिन्हाले बताए।
