नेपाली कांग्रेसमा निर्वाचनअगावै महाधिवेशन आयोजना गर्नुपर्ने विषयमा उठेको विवाद समाधानका लागि संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले नेता डा. शेखर कोइरालासँग मंगलबार छलफल गरेको छ।
विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा बिहान साढे ८ बजेबाट सुरु भएको छलफल करिब दुई घण्टासम्म चलेको थियो। केन्द्रीय सदस्य आङगेलु शेर्पाका अनुसार, बैठकमा महाधिवेशन विवादको व्यवस्थापन र मध्यमार्गी समाधान निकाल्ने विषयमा छलफल भएको छ।
शेर्पाले भने, “अहिले विशेष महाधिवेशन गर्ने वा नगर्ने विषयमा टसल आएको छ। त्यसलाई व्यवस्थापन गर्ने र मध्यमार्गी बाटो निकाल्नेबारे छलफल भइरहेको छ।” उनले मोडालिटीबारे विस्तृत जानकारी भने सार्वजनिक गरेनन् र भनाइ अनुसार दुई–तीनवटा विकल्पहरूमाथि विचार भइरहेको छ।
मोडालिटी तयार भएपछि सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति, महामन्त्रीहरू र विशेष महाधिवेशनका पक्षधरसँग परामर्श गरी निष्कर्षमा पुग्ने प्रयास गरिने शेर्पाले बताए।
उक्त समूहले पाँच दिनअघि सभापति देउवासँग भेटवार्ता गरेको थियो भने सोही दिन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरेको थियो। समूहले १५ औं महाधिवेशनको कार्यतालिकासँग सम्बन्धित बहसको क्रममा निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने पक्षमा आफ्नो स्थिति स्पष्ट पारेको थियो।
