नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीले २३–२४ भदौ घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगलाई दिएका बयानका मुख्य बुँदाहरू सार्वजनिक गरेका छन्।
ओलीले आइतबार आयोगलाई बयान दिएका थिए भने आयोगका अधिकारीहरू गुण्डुस्थित उनको निवासमा पुगेर बयान लिएका थिए।
बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका बयानका मुख्य ६ बुँदा यस प्रकार छन्:
१. २२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको।
२. आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेका छन्।
३. आन्दोलन गर्ने अधिकांश व्यक्ति जेनजि पुस्ताका नभएको कुरा तत्कालीन फोटो र भिडियोहरूले स्पष्ट देखाएको।
४. २३ भदौमा तोडफोड र अचानक गोली प्रहार सुरु भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा प्रमुखसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय।
५. २४ भदौको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गर्न चाहिएको भए पनि सम्भव हुन नसकेको।
६. गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यसअघि–पछिसम्म सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउनेमा आशंका।
यस कदमसँगै ओलीले घटनाको तथ्यात्मक विवरण आयोगसमक्ष राखेका छन् भने पार्टी भित्रका सदस्यहरू र आमजनतामा पनि घटनाबारे स्पष्टता ल्याउने प्रयास भएको बुझिएको छ।
