ग्लोबल आइएमई बैंकमा दीर्घ सेवाको सम्मान

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा अवधि पूरा गरेका १७५ जना कर्मचारीलाई सम्मान गरेको छ। काठमाडौँमा आयोजित विशेष समारोहमा निरन्तर सेवा प्रदान गर्दै आएका कर्मचारीहरूलाई कदरस्वरूप सम्मान गरिएको हो।

कार्यक्रममा ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। बैंक सञ्चालक समितिका अध्यक्ष ढकालसहित सदस्यहरू राधेश पन्त, रामबहादुर भण्डारी, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी तथा नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले संयुक्त रूपमा खादा र सम्मानपत्र प्रदान गरेका थिए।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले मर्जर र व्यवसाय विस्तारसँगै बैंकले गुणस्तरीय, प्रभावकारी र प्रविधिमैत्री सेवा विस्तारमा विशेष ध्यान दिँदै आएको बताए। १९ वर्षअघि १९औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको ग्लोबल आइएमई बैंकले छोटो समयमै अधिकांश वित्तीय सूचकहरूमा आफूलाई सबल बनाएको उनको भनाइ थियो। उनले बैंकको सफलतामा नेतृत्वसँगै सम्पूर्ण कर्मचारीको सहकार्य, मिहिनेत र लगनशीलताको ठूलो भूमिका रहेको उल्लेख गर्दै आगामी दिनमा अझ समर्पित भएर काम गर्न कर्मचारीहरूलाई आग्रह गरे।

प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले डिजिटल युगअनुकूल नविनतम् र ग्राहकमैत्री सेवा प्रदान गर्ने लक्ष्यसहित अगाडि बढिरहेको बताए। नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आगामी वर्षहरूमा पनि ग्राहक सेवा र सन्तुष्टिलाई केन्द्रमा राख्दै गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, ‘बेष्ट बैंक नेपाल २०२४ र २०२५’, ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५’, ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेष्ट इम्प्लोयर’ जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ।

देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा रहेको ग्लोबल आइएमई बैंकले हाल ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।