शिखर पावर डेभलपमेन्ट लिमिटेडले माघ ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ।
कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत बराबर अर्थात् ३२ करोड रुपैयाँको ३२ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ९ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ। यो व्यवस्था वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा विद्युत उत्पादन अनुमतिपत्रको आधारमा गरिएको हो।
आयोजना प्रभावित क्षेत्रअन्तर्गत बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका वडा नम्बर १ देखि १० सम्मका सम्पूर्ण वडाका स्थानीय बासिन्दा तथा विद्युत प्रसारण लाइनबाट प्रभावित बागलुङ जिल्लाकै ढोरपाटन नगरपालिका वडा नम्बर २ का बासिन्दाहरूले उक्त शेयरका लागि आवेदन दिन सक्नेछन्।
स्थानीय बासिन्दाका लागि खुला गरिएको आईपीओ छिटोमा माघ २० गते बन्द हुनेछ भने सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा फागुन ८ गतेसम्म निष्काशन अवधि कायम रहनेछ।
यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत बराबर २ करोड २२ लाख रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २ लाख २२ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिँदैछ। यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा काम गरिरहेका नेपालीहरूले आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले माघ ९ गतेभित्र आवेदन दिनुपर्नेछ। सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि माघ २० गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।
