राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र निष्काशन

नेपाल राष्ट्र बैंकले आज फेरि २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको छ। १ वर्षे अवधिका लागि जारी गरिने यस ऋणपत्रलाई नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ङ’ नाम दिइएको छ।

ऋणपत्रको बोलकबोल आज मध्याह्न २ बजेसम्म अनलाइनमार्फत सञ्चालन हुनेछ र बोलकबोलकै माध्यमबाट ब्याजदर निर्धारण गरिनेछ। यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आवेदन दिन पाउनेछन्।

ऋणपत्रको साँव भुक्तानी २०८३ पुस २३ गते हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ। न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा बाँकी भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिने व्यवस्था गरिएको छ।

यस ऋणपत्रलाई राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा पनि प्रयोग गर्न सकिनेछ।

यसअघि हिजो (पुस २२ गते) राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो। चालु वित्तीय वर्षमा राष्ट्र बैंकले ऋणपत्रमार्फत वित्तीय संस्थाहरूमा लगानीको अवसर प्रदान गर्दै अर्थतन्त्रमा थप सन्तुलन ल्याउने लक्ष्य राखेको छ।