पोखराको मुख्य बजार क्षेत्रमा हाल बिजुलीको तार भूमिगत (अण्डरग्राउन्ड) गर्ने काम तीव्र गतिमा अघि बढेको छ। पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रवेशद्वारदेखि सेतीपुलसम्मको क्षेत्रमा काम सकिसकेको छ भने अन्य क्षेत्रमा तार भूमिगत गर्ने कार्य निरन्तरता पाएको छ।
नेपाल विद्युत् प्राधिकरणले पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण परियोजना अन्तर्गत पोखरा र भरतपुरमा तार भूमिगत गर्न यस योजना सञ्चालन गरिरहेको छ। परियोजनाले पोखरामा तीन वर्षदेखि काम गरिरहेको छ।
आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार, हाल विद्युत् तार भूमिगत गर्ने काम पोखरा अन्तरराष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक, सृजनाचोक–रत्नचोक–राष्ट्र बैंक चोक–शहिद चोक–लेकसाइड–हल्लन चोकदेखि बुलौदी हुँदै जिरो किलोमिटरसम्म भइरहेको छ। अब न्यूरोड क्षेत्रमा केही समयपछि काम सुरु गरिने उनले जानकारी दिए।
सुवेदीका अनुसार, “पोखराको बिजुलीको स्रोत कुँडहर सब–स्टेशनदेखि काम सुरु गरिएको हो। पूर्वतर्फ विमानस्थलद्वार र पश्चिमतर्फ सेतीपुलसम्मको क्षेत्रमा काम सकिसकेको छ। बाँकी कतिपय क्षेत्रमा लाइन चार्ज गर्न बाँकी छ, तर पछिल्लो समय तीव्रताका साथ काम अघि बढाइएको छ।”
परियोजनाको निर्माण म्याद आगामी जुन ३१ सम्म तोकिएको छ र सो समयभित्र सबै काम सम्पन्न हुने विश्वास गरिएको छ। पोखरामा तार भूमिगत गर्ने योजना सन् २०२२ मा सुरु भएको हो। सुरुआती चरणमा डिजाइन, भूगर्भ अध्ययनलगायतमा समय लागेपछि काम एक वर्षपछि मात्र सुरु भएको थियो।
पोखराको २३ किलोमिटर क्षेत्रको तार भूमिगत गर्न १ अर्ब ७० करोड रुपैयाँ बजेटमा भारतीय कम्पनी टाटा प्रोजेक्ट्ससँग ठेक्का सम्झौता गरिएको छ। परियोजना प्रमुख सुवेदीका अनुसार भरतपुरमा हालसम्म ७४ प्रतिशत काम सकिएको छ। भरतपुरको लागत १ अर्ब ३० करोड रुपैयाँ रहेको छ।
