वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत निरीक्षणका क्रममा दुई उद्योगलाई नगद जरिवाना गरेको छ। विभागले मञ्जुश्री प्लास्टिक इण्डस्ट्रिज, चाँगुनारायण–२, भक्तपुर लाई २ लाख रुपैयाँ र श्री पोलिथिन एण्ड प्लास्टिक उद्योग प्रालि, काठमाडौं लाई ५० हजार रुपैयाँ बराबरको जरिवाना गरेको छ।
विभागका अनुसार यी फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२)क र दफा ३८ बमोजिमको कसुरमा दफा ३९(१)ख बमोजिम कारवाही गरिएको हो।
निर्देशन अनुसार, विभागले काठमाडौं र भक्तपुरका विभिन्न १७ वटा उद्योग र फर्ममा अनुगमन निरीक्षण गरेको थियो। निरीक्षणमा १५ वटा फर्मलाई सुधारात्मक निर्देशन दिइएको थियो।
स्थानीय प्रशासन र उपभोक्ता अधिकारकर्मीको सहभागितामा विभागले निरन्तर रुपमा उद्योग र फर्ममा अनुमगन तथा निरीक्षण गरिरहेको छ। विभागले भनेको छ कि यस प्रकारको कदमले उपभोक्ता अधिकार संरक्षणमा प्रभावकारी योगदान पुर्याउनेछ।
