महाकाली पुल आयोजना कार्यालय, महेन्द्रनगरले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुदूरपश्चिम खण्डका १२ पुल को मर्मत तथा सुरक्षा सुदृढीकरण काम अगाडि बढाएको छ।
कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकी सडकखण्डमा पर्ने चौधर नदी, वनगाउँ खोला, भाँसी खोला, काँगला खोला, च्यानल क्रसिङ, पथरिया नदी, स्याली नदी, वनहरा नदी, अम्खैया खोला, बालुवा खोला, गौरीगङ्गा खोला र लिक्मा खोला माथि रहेका पुलमा मर्मत कार्य भइरहेको छ।
आयोजना कार्यालयका इन्जिनियर रवि शाहका अनुसार, विश्व बैंकको आर्थिक सहयोगमा ठेक्का प्रक्रियामार्फत रु १ करोड ९१ लाख ८२ हजार ४८२ लागतमा पुलहरू मर्मत भइरहेको छ। उनले भने, “पुलको अवस्था (कन्डिसन रेटिङ) का आधारमा वर्गीकरण गरी प्राथमिकताका आधारमा मर्मत कार्य अगाडि बढाइएको छ।”
मर्मत कार्यअन्तर्गत सस्पेन्सन जोइन्ट, डब्लु–बिम बेरियर, बेरियर रोड पासिङ, क्याच आइ, डेलिनेटर पोस्ट र रेलिङ जस्ता प्राविधिक कामहरू समावेश छन्। मर्मत कार्य गत मङ्सिर २१ गतेबाट सुरु भएको छ र चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
