पाथीभरा केबुलकारविरुद्ध मुक्कुम्लुङ संरक्षण आन्दोलन सुरु

ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केबुलकारको विरोधमा मुक्कुम्लुङ पाङ्सेःप् चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले मंगलबारदेखि फेरि आन्दोलन सुरु गरेको छ।

संघर्ष समितिले पुस १८ गते आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै मङ्गलबार ताप्लेजुङका विभिन्न स्थान र गाउँभेला तथा छलफल आयोजना गरेको छ। समितिले माघ १२ गते कोशीका सबै जिल्लामा कोणसभा, माघ १४ गते राजमार्ग केन्द्रित विरोध कार्यक्रम, र माघ १६ गते शहीद दिवसका दिन फुङलिङमा जनप्रदर्शन तथा कोणसभा गर्ने कार्यक्रम तय गरेको छ।

त्यसैगरी, १७ माघमा आन्दोलनका घाइतेलाई सम्मान गर्ने र १८ माघमा हाक्पारे देखिमाथि मुक्कुम्लुङ माङधान स्थलसम्म धागो टाँग्ने कार्यक्रम रहेको छ। माघ २० देखि महिना अन्त्यसम्म जिल्ला, गाउँपालिका र वडामा गठन भएका मुक्कुम्लुङ संरक्षण तथा सहयोग समितिहरुको सुदृढीकरण, विस्तार र शसक्तिकरणका साथै पाथीभरा क्षेत्र संरक्षण, केबुलकार जारेजी खारेजी, पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेजी, सशस्त्र प्रहरी मुक्कुम्लुङ क्षेत्रबाट फिर्ता र मानवअधिकार उल्लङ्घनमा कारबाहीको माग अभियानका रूपमा अघि बढाउने तयारी रहेको छ।

अन्दाजी १४ वटा पहिचानवादी संघ–संस्था, ११ पार्टी आवद्ध संगठन र जेनजी अभियानसँग आवद्ध अलाइन्सहरुले आन्दोलनमा सहभागिता जनाएका छन्। उनीहरुले किराँत र हिन्दु धर्मावलम्बीहरुको आस्थामाथि प्रहार, स्थानीयमाथि शेयर स्क्याम, राष्ट्रिय फूल लालीगुराँसको जंगल विनाश र आन्दोलनका घाइतेहरूमाथि दुव्र्यवहारजस्ता विषय उठाएका छन्।

मुख्य मागमा केबुलकार निर्माण खारेजी र पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेजी रहेका छन्। मुक्कुम्लुङ संरक्षण समितिका नेताहरुले भने, “हाम्रो उद्देश्य भौतिक संरचना र स्थानीय पहिचान संरक्षण गर्दै समुदायको आवाजलाई सम्मान दिने हो।”