निर्यात प्रवर्द्धनका लागि भ्याट हटाउन निजी क्षेत्रको माग, स्वदेशी उत्पादनलाई जोड

नेपाल निर्यात परिषद्को २८ औँ वार्षिक साधारण सभा एवं १० औँ निर्यात दिवसका अवसरमा आयोजित कार्यक्रममा निजी क्षेत्रका अगुवाहरुले निर्यात उद्योगमा परिरहेको असरको विषयमा राज्यलाई गम्भीर हुन आग्रह गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठले कच्चा पदार्थमा लाग्दै आएको भ्याट हटाएर निर्यात उद्योगलाई सहयोग पुर्‍याउनुपर्ने बताए। उनका अनुसार, उद्योगमा चाहिने धेरै कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने भएकाले नेपाली कच्चामा भ्याट लगाउँदा निर्यात व्यवसाय निरुत्साहित भइरहेको छ। उनले भने–“लजिस्टीक लागत ३५ प्रतिशतसम्म पुगेको छ। ट्रान्जिट लागत पनि अन्य देशमा एक महिनामा हुनेमा हाम्रोमा दुई महिनासम्म लागिरहेको छ। यसलाई कम गर्न राज्यको ध्यान आवश्यक छ।”

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्वदेशी उत्पादन बढाउने नीतिले अर्थतन्त्रलाई अघि बढाउन सक्ने बताए। उनले भने–“उद्योगहरु न्युन क्षमतामा सञ्चालन भइरहेका छन्। स्वदेशी वस्तुको अधिकतम प्रयोग र खपत बढाउने नीति लिनुपर्छ। यस्तो नीति आत्मनिर्भर अर्थतन्त्रका लागि विशेष महत्व राख्छ।”

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले पनि उत्पादनदेखि बजारीकरणसम्म निजी क्षेत्रलाई उकास्न राज्यले विशेष पहल गर्नुपर्नेमा जोड दिए। उनले भने–“निजी क्षेत्रमा लगानीयोग्य वातावरण नबन्दा विदेशी लगानी पनि आउन सक्दैन। अर्थतन्त्रको ८१ प्रतिशत हिस्सा निजी क्षेत्रमा भए पनि लगानीमैत्री वातावरण छैन। बैंकमा रहेको पर्याप्त रकम पनि उद्योगमा प्रवाह हुन सकेको छैन।”

कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले निर्यातमुखी उद्योगलाई विशेष सहुलियत र विश्वासिलो वातावरण प्रदान गर्न राज्यले कदम चाल्नुपर्ने माग गरेका छन्। उनीहरुको भनाइ अनुसार, लगानी योग्य रकमको सही प्रवाह र भ्याटजस्ता कर नीतिहरुको पुनरावलोकनले नेपालका निर्यात उद्योगलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

—न्युज एजेन्सी नेपाल