काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गरिरहेको समूहले तयारीलाई तीव्र पार्दै १८ वटा उपसमिति गठन गरेको छ ।
संस्थापन पक्षले बहुमतको बलमा आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरे पनि असन्तुष्ट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले समानान्तर रूपमा विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएका हुन् ।
पत्रकार सम्मेलन गर्दै उनीहरूले उपसमिति र संयोजकहरूको नाम सार्वजनिक गरे । साथै, पार्टीको बृहत्तर हितका लागि यस प्रक्रियाको स्वामित्व लिन उनीहरूले नेतृत्वलाई चेतावनीपूर्ण आग्रह गरेका छन् । विधि र विधान बचाउन विशेष महाधिवेशन अपरिहार्य रहेको उनीहरूको दाबी छ ।
