एनएमबी बैंकले शाखा सञ्जाललाई प्रभावकारी बनाउन ८ शाखा कार्यालय मर्ज गर्ने

काठमाडौं । एनएमबी बैंकले आफ्नो शाखा सञ्जाललाई प्रभावकारी बनाउने उद्देश्यले देशका विभिन्न स्थानमा रहेका ८ वटा शाखा कार्यालय मर्ज गर्ने निर्णय गरेको छ । बैंकले सार्वजनिक सूचना जारी गर्दै शाखा समायोजन तथा एकीकरणबारे जानकारी दिएको हो ।

बैंकका अनुसार विराटनगर महानगरपालिका–१ मा रहेको विराटनगर शाखा महेन्द्रचोक शाखासँग मर्ज गरिनेछ । यस्तै, भरतपुर महानगरपालिका–२ स्थित नारायणगढ मेनरोड शाखा भरतपुर महानगरपालिका–१ को लायन्स चोक शाखामा समायोजन हुनेछ ।

पोखरा महानगरपालिकामा रहेका दुई शाखा पनि एकीकृत गरिने बैंकले जनाएको छ । पोखरा–२ को पोखरा शाखा चिप्लेढुंगा शाखासँग मर्ज हुनेछ भने पोखरा–१५ को रामबजार शाखा पोखरा–१० स्थित अमरसिंह शाखामा समायोजन गरिनेछ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थालाई शाखा मर्ज गर्न सक्ने व्यवस्था गरेपछि सोही प्रावधानअनुसार एनएमबी बैंकले आफ्ना ८ शाखालाई ४ शाखामा समायोजन गरेको हो ।