महिन्द्राको ३एक्सओ ईभी: नयाँ ऊर्जा, नयाँ प्रतिस्पर्धा

महिन्द्राले आफ्नो नयाँ इलेक्ट्रिक एसयुभी ३एक्सओ ईभी सार्वजनिक गरेको छ। मंगलबार भारतको राजस्थानमा आयोजित कार्यक्रममा ३एक्सओ ईभीका दुई भेरियन्ट—एएक्स५ र एएक्स७ एल—लञ्च गरिएको हो। कम्पनीका अनुसार यसको डेलिभरी २३ फेब्रुअरी २०२६ बाट सुरु हुनेछ।

मूल्यको कुरा गर्दा, एएक्स५ भेरियन्टको मूल्य १३.८९ लाख र एएक्स७ एल भेरियन्टको मूल्य १४.९६ लाख भारतीय रुपैयाँ तोकिएको छ। ७.२ किलोवाट क्षमताको एसी चार्जरका लागि ग्राहकले अतिरिक्त ५० हजार रुपैयाँ तिर्नुपर्नेछ।

३एक्सओ ईभी, पेट्रोल/डिजेल इन्जिनमा आधारित ३एक्सओ एसयुभी प्लेटफर्ममै विकास गरिएको हो। यसमा पहिलेको एक्सयुभी ४०० बाट ब्याट्री र इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ। नयाँ मोडलले एक्सयुभी ४०० लाई प्रतिस्थापन गर्दै बजारमा टाटा नेक्सन ईभीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने महिन्द्राको लक्ष्य छ।

महिन्द्राका अनुसार ३एक्सओ ईभीले वास्तविक प्रयोगमा करिब २८५ किलोमिटर रेन्ज दिनेछ। यसमा ३९.४ किलोवाट–आवर क्षमताको ब्याट्री जडान गरिएको छ र यो दुई ट्रिम विकल्पमा उपलब्ध छ। बाहिरी र भित्री डिजाइन भने प्रायः आईसीई ३एक्सओसँग मिल्दोजुल्दो राखिएको छ।

पावरट्रेनतर्फ, ३एक्सओ ईभीमा अगाडिको पांग्रालाई चलाउने इलेक्ट्रिक मोटर दिइएको छ, जसले १५० एचपी पावर र ३१० एनएम टर्क उत्पादन गर्छ। गाडीले ० देखि १०० किमि/घण्टा गति लिन ८.३ सेकेन्ड मात्र लिन्छ। यसमा ‘फन’, ‘फास्ट’ र ‘फियरलेस’ गरी तीन ड्राइभ मोड उपलब्ध छन्। ५० किलोवाट डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्री ० देखि ८० प्रतिशतसम्म ५० मिनेटमा चार्ज हुने कम्पनीको दाबी छ।

आईसीई मोडलबाट रूपान्तरण गरिएको भएकाले ३एक्सओ ईभी आकारमा अघिल्लो एक्सयुभी ४०० भन्दा केही सानो छ। यसको लम्बाइ ४ मिटरभन्दा कम भएकाले बुट स्पेस पनि घटेको छ। हालका लागि यो महिन्द्राको एकमात्र आईसीई–आधारित ईभी हो। कम्पनीका अन्य ईभी मोडलहरू—एक्सईभी ९ई, एक्सईभी ९एस र बीई ६—भने पूर्ण रूपमा बोर्न–इलेक्ट्रिक (BE) प्लेटफर्ममा आधारित छन्।

डिजाइनतर्फ, ३एक्सओ ईभी बाहिरबाट हेर्दा आईसीई भर्सनसँग लगभग उस्तै देखिन्छ। ग्रिल बडी–कलर फिनिसमा छ भने अगाडिको बम्परमा हल्का फरक डिजाइन दिइएको छ। भित्री भागमा उही ड्यासबोर्ड लेआउट राखिए पनि सेन्टर कन्सोल, एसी भेन्ट र स्टेयरिङ लोगोमा ब्रान्ज कलर हाइलाइट प्रयोग गरिएको छ।

फिचरको हिसाबले ३एक्सओ ईभी एसयुभी निकै आकर्षक छ। यसमा दुईवटा १०.२५ इन्चका स्क्रिन, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, सबै–एलईडी लाइट, डुअल–जोन एसी, इलेक्ट्रोनिक पार्किङ ब्रेक, वायरलेस चार्जर, ६ एयरब्याग, ईएसपी र क्रुज कन्ट्रोल जस्ता सुविधा छन्। टप भेरियन्टमा प्यानोरामिक सनरुफ, लेदरेट सिट, ७–स्पिकर हरमन कार्डन अडियो सिस्टम, १७ इन्च अलोय ह्विल र एडास (ADAS) पनि उपलब्ध छ।

बजारमा ३एक्सओ ईभीको मुख्य प्रतिस्पर्धी टाटा नेक्सन ईभी रहनेछ। नेक्सन ईभी हाल १२.४५ लाखदेखि १७.२९ लाख रुपैयाँ (एक्स–शोरूम) मूल्य दायरामा उपलब्ध छ र यसमा दुई ब्याट्री विकल्पसहित अधिकतम ४६५ किलोमिटर एआरएआई प्रमाणित रेन्ज दिइएको छ।