सौर्य ऊर्जामा नयाँ नेतृत्व, मल्लको अध्यक्षता

नेपाल सौर्य विद्युत् उत्पादक संघको अध्यक्षमा भरतकुमार मल्ल निर्वाचित भएका छन्। राजधानीमा सम्पन्न संघको २५औँ वार्षिक साधारणसभाबाट १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।

नवनिर्वाचित कार्यसमितिअनुसार वरिष्ठ उपाध्यक्षमा दीपक गौतम, प्रथम उपाध्यक्षमा रामेश्वर वाग्ले, द्वितीय उपाध्यक्षमा सुदर्शन बानियाँ, महासचिवमा नेत्रबहादुर खत्री, सचिवमा केशवराज शर्मा र कोषाध्यक्षमा रामप्रसाद कोइराला निर्वाचित भएका छन्।

यसैगरी संघको सदस्यमा राजेन्द्रबहादुर खड्का, निस्था गौतम, विश्व शाह, कृष्णराज चुदाली, योगेन्द्रबहादुर श्रेष्ठ, दीपकराज पौडेल, तिलकलाल श्रेष्ठ, कुमार बस्नेत र सुबोध रिमाल निर्वाचित भएको निर्वाचन उपसमितिले जनाएको छ।

नवनिर्वाचित द्वितीय उपाध्यक्ष सुदर्शन बानियाँका अनुसार संघले राष्ट्रिय प्रसारण लाइन पुगेका तथा नपुगेका क्षेत्र, सुगम र दुर्गम भेगमा घरेलु सौर्य विद्युत् प्रणालीमार्फत विद्युतीकरण गर्दै आएको छ। साथै स्वास्थ्य, शिक्षा, सिँचाइ, सञ्चार र खानेपानी क्षेत्रमा सौर्य ऊर्जाको प्रयोग बढाएर सेवा विस्तारमा संघले महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए।

सौर्य ऊर्जा उत्पादनमा क्रियाशील संस्थाहरूलाई संगठित गर्ने उद्देश्यले निजी क्षेत्रको पहलमा २०५७ साउन २० गते नेपाल सौर्य विद्युत् उत्पादक संघ स्थापना गरिएको थियो। हाल संघमा १३८ उद्योग तथा कम्पनी आबद्ध छन्। संघले यस वर्ष विभिन्न कार्यक्रममार्फत रजत जयन्ती मनाइरहेको छ।