ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघाको आधार शिविर क्षेत्र हाल सुनसान बनेको छ। पर्यटकीय मौसम अर्थात् भ्रमण गर्ने याम सकिएसँगै खम्बाचेन, लोनाक र पाङ्पे क्षेत्रमा पर्यटकहरूको आवतजावत कम भएको हो। कञ्चनजंघाको दक्षिणी आधार शिविर चेइराम, रामजेरलगयात क्षेत्र पनि सुनसान बनेका छन्।
पर्यटन व्यवसायी तेन्जिङ सेराप शेर्पाका अनुसार, पर्यटकीय याम सकिएपछि पर्यटक आउजाउ घट्दा आधार शिविर सुनसान बनेको हो। होटेल व्यवसायीहरू पनि अहिले तल्लो बस्तीमा फर्किएका छन्।
तर, कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयका तथ्यांक अनुसार पछिल्लो वर्ष विदेशी पर्यटकको संख्या बढ्दो छ। यस वर्षको भ्रमणको पहिलो याममा ९५० जना विदेशी पर्यटकले कञ्चनजंघा क्षेत्र भ्रमण गरेका थिए। गत वर्षको पहिलो याममा यो संख्या ८७७ मात्र थियो।
संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक टासी तेन्जिङ शेर्पाका अनुसार, मङ्सिरपछि पनि फाट्टफुट्ट रूपमा पर्यटक आउँदैछन्। यस क्षेत्रमा भ्रमण गर्नेमा विदेशी मात्र नभई आन्तरिक पर्यटकको संख्या पनि बढ्दै गएको जानकारी दिइएको छ।
