प्रतिनिधि सभा निर्वाचनका लागि १.३३ लाख निर्वाचन प्रहरी माग

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन सुरक्षा सुनिश्चित गर्न नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० जना ‘निर्वाचन प्रहरी’ भर्ना गर्न दरखास्त आह्वान गरेको छ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले जारी गरेको सूचनाअनुसार इच्छुक व्यक्तिले शुक्रबारदेखि माघ १ गतेसम्म आवेदन दिन सक्नेछन्। सार्वजनिक विदा भए पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

निर्वाचन प्रहरीमा भर्ना हुनका लागि उम्मेदवारले १८ वर्ष पूरा भइसकेको र ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्छ।

विशेष प्राथमिकता दिइने समूहमा पूर्वसुरक्षाकर्मी, अघिल्ला निर्वाचनमा म्यादी प्रहरीमा खटिएका व्यक्ति, छिमेकी देशका सुरक्षा निकायमा काम गरेर अवकाश भएका व्यक्ति तथा सुरक्षा निकायको शारीरिक र स्वास्थ्य परीक्षण उत्तीर्ण व्यक्ति समावेश छन्।