कारोबार हुने साताको अन्तिम दिन नेप्सेमा बढावा

साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारको प्रमुख सूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार घटेको नेप्से यस दिन ४.५९ अंकले वृद्धि भई २६४०.५४ विन्दुमा पुगेको हो ।

नेप्से परिसूचक १३ अंकले घट्यो, कारोबार रकम पनि ओरालो

यस दिन सेन्सेटिभ इण्डेक्स ०.९२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंकले वृद्धि भएको छ ।
नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । बुधबार ५ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३२८ स्टकको ६९ हजार २६१ पटकको कारोबारमार्फत ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यसदिन सान्भि इनर्जी लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.१६ प्रतिशतले बढेको छ । त्यस्तै, एसवाई प्यानल नेपालको सेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अन्य स्टकहरूको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ भने मूल्य घटेका स्टकहरूको गिरावटदर ४ प्रतिशतभन्दा कम देखिएको छ ।

कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको बिहीबार २० करोड ६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यसपछि बन्दीपुर केबलकार एण्ड टुरिजमको साढे १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सान्भि इनर्जीको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये बिहीबार ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूह सकारात्मक देखिएका छन् ।