नेपाल चेम्बर अफ कमर्समा कृत्रिम बौद्धिकता (एआई) नीति र औद्योगिक विकासमार्फत नेपालको डिजिटल भविष्य निर्माणबारे बृहत अन्तरक्रिया सम्पन्न भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलको उपस्थितिमा सूचना प्रविधि क्षेत्रसँग आबद्ध दुई दर्जनभन्दा बढी संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
अन्तरक्रियामा सहभागी सरोकारवालाहरूले नेपालमा एआई प्रविधिको प्रभावकारी उपयोग, नीतिगत स्पष्टता र कानुनी सहजता बिना डिजिटल भविष्य निर्माण सम्भव नहुने उल्लेख गर्दै सरकार, निजी क्षेत्र र सम्बन्धित निकायबीच साझा समझदारी आवश्यक रहेको बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले सुशासन प्रवर्द्धनका लागि सूचना प्रविधिको विकास अपरिहार्य भएको बताए । उनले सरकारी सेवालाई चुस्त, छरितो र प्रभावकारी बनाउन तथा आर्थिक पारदर्शिता सुनिश्चित गर्न आईटी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको स्पष्ट पारे ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले एआई केवल प्रविधिको विषय मात्र नभई आर्थिक पारदर्शिता, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनाको महत्वपूर्ण आधार बन्दै गएको बताए । डिजिटल रूपान्तरणमार्फत सार्वजनिक सेवालाई प्रभावकारी बनाउने, व्यवसायिक लागत घटाउने र निर्णय प्रक्रियामा पारदर्शिता ल्याउन एआईको भूमिका निर्णायक हुने उनको भनाइ थियो ।
अध्यक्ष अग्रवालले एआईको माध्यमबाट कृषि, स्वास्थ्य, शिक्षा, वित्त, ऊर्जा तथा सार्वजनिक सेवाजस्ता क्षेत्रमा गुणस्तर सुधार गर्दै सीमित स्रोतबाट अधिकतम उपलब्धि हासिल गर्न सकिने उल्लेख गरे । साथै, एआई नीति निर्माण र कार्यान्वयनमा सरकार र निजी क्षेत्रबीच विश्वसनीय पुलको भूमिका निर्वाह गर्दै चेम्बरले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आईटी विकासलाई दिगो आर्थिक विकाससँग जोड्नुपर्नेमा जोड दिए । सार्वजनिक–निजी साझेदारीमार्फत आईटी क्षेत्रको विकास गर्न सकिए युवाहरूको वैदेशिक पलायन रोक्न सकिने उनको भनाइ थियो ।
अन्तरक्रियामा सहभागी विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले नेपालमा एआई नीतिको प्रभावकारिता, कानुनी जटिलता, डेटा सुरक्षा, साइबर जोखिमलगायत विषयमा आफ्ना धारणा राखेका थिए ।
सोही अवसरमा नेपाल चेम्बर अफ कमर्सको आईटी, सफ्टवेयर तथा टेक्नोलोजी समिति र युनियन अफ इन्फरमेशन कम्युनिकेशन एण्ड टेक्नोलोजी नेपालबीच सूचना प्रविधि र एआई क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता पनि सम्पन्न भएको छ । सम्झौतामा चेम्बर आईटी समितिका सभापति विज्ञान श्रेष्ठ र युनियनका महासचिव कुशल रेग्मीले हस्ताक्षर गरेका छन् ।
