दमौली–केशवटार सडक ढलानमा नयाँ प्रगति

जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४, केशवटार जाने मार्ग ढलान र कालोपत्रको कार्य सम्पन्न हुँदैछ । हाल सो मार्गको नौ किलोमिटर सडक पक्की भइसकेको छ भने बाँकी पाँच किलोमिटर सडकमा ढलान र कालोपत्र कार्य जारी छ ।

यसअघि सो सडकको सात किलोमिटर भाग कालोपत्र गरिएको थियो भने हाल प्रदेश सरकारको बजेटबाट थप दुई किलोमिटर सडक ढलान गरिएको छ । गण्डकी प्रदेश सरकारले रु पाँच करोडको लागतमा नाला निर्माण, सडक विस्तार र कालोपत्रको काम थालेको छ । वडाध्यक्ष काजीमान श्रेष्ठका अनुसार, “एक सातादेखि सो खण्डमा सवारी आवतजावत रोकिएको छ। केशवटार–कुलुड हुँदै राजमार्गबाट दमौली जाने यातायात प्रभावित भएको छ।”

दमौली–केशवटार सडकलाई धरमपानी, बन्दीपुर हुँदै पृथ्वीराजमार्गको डुम्रे बजारसँग जोडेर चक्रपथका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ । सहरी पूर्वाधार विकास तथा शासकीय कार्यक्रम अन्तर्गत विश्व बैंकको रु ६ करोड ऋण अनुदान व्यास नगरपालिकाबाट स्वीकृत भई दोस्रो चरणका लागि प्रक्रिया अघि बढाइएको व्यास नगरपालिका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिए ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेका अनुसार, गण्डकी प्रदेश सरकारले रु एक करोड पुनःविनियोजन गरेको छ भने केशवटार मोटरमार्ग स्तरोन्नतिको लागि नगरपालिकाले अहिलेसम्म करिब रु चार करोड बजेट विनियोजन गरिसकेको छ ।