क्यान महासंघलाई सरकारद्वारा आईसीटी क्षेत्रमा विशिष्ट सम्मान

नेपाली सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको विकास, डिजिटल साक्षरता प्रवर्द्धन र दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्‍याएको भन्दै नेपाल सरकारले कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ र यसको उच्च नेतृत्वलाई सम्मान गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी)को दोस्रो वार्षिकोत्सवका अवसरमा ललितपुरको भैँसेपाटीमा आयोजित विशेष समारोहमा क्यान महासंघलाई प्रतिष्ठित सम्मान प्रदान गरिएको हो।

सो अवसरमा क्यान महासंघलाई संस्थागत रूपमा र व्यक्तिगत रूपमा महासंघका दुई पदाधिकारीलाई प्रशंसा–पत्र र सम्मान–पत्र प्रदान गरिएको थियो। वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीलाई व्यावसायिक आईसीटी प्रशिक्षणको आधार तयार पार्न र नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा तथा महासचिव चन्द्र विलास भुर्तेललाई पाठ्यक्रम मस्यौदा उपसमितिको संयोजकको रूपमा प्रशंसनीय कार्य गरेकोमा सम्मानित गरिएको थियो।

सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी, श्रम सचिव एवं एनएभीटी विकास समितिका अध्यक्ष डा. दीपक काफ्ले र प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश कुमार बखतीले संयुक्त रूपमा क्यान महासंघ र पदाधिकारीहरूलाई सम्मान वितरण गरेका थिए।

समारोहमा सहभागीहरूले क्यान महासंघको नेतृत्वमा आईसीटी प्रशिक्षण, डिजिटल शिक्षा र दक्ष जनशक्ति उत्पादनमा देखिएको योगदानको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि यस क्षेत्रको विकासमा क्यानले अग्रणी भूमिका निर्वाह गर्न अपेक्षा व्यक्त गरेका थिए।