चीनको अग्रणी विद्युतीय सवारी निर्माता एक्सपेङले आफूलाई अब केवल कार निर्माता कम्पनीमा सीमित नराखी “फिजिकल आर्टिफिसियल इन्टेलिजेन्स (एआई)” प्रविधि कम्पनीको रूपमा स्थापित गर्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ। कम्पनीले यसै वर्ष रोबोट्याक्सीको सडक परीक्षण सुरु गर्ने र सन् २०२६ को दोस्रो अर्धवार्षिकदेखि मानवरूपी (ह्युमानोइड) रोबोटको ठूलो मात्रामा उत्पादन थाल्ने योजना अघि सारेको छ।
ग्वाङझाउमा आयोजित एक कार्यक्रममा एक्सपेङका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हे सियाओपेङले अटोमोबाइल उद्योगमा तीव्र बन्दै गएको प्रतिस्पर्धाको सामना गर्न कृत्रिम बुद्धिमत्तासँग एकीकृत प्रविधि नै कम्पनीको प्रमुख बल हुने बताए।
उनले भने, “हामी अब सस्तो हार्डवेयर बेच्ने साधारण कार कम्पनी बन्न चाहँदैनौं। हाम्रो लक्ष्य स्पष्ट पहिचान बोकेको, विश्वव्यापी प्रविधि कम्पनी बन्ने हो।”
हे सियाओपेङका अनुसार एक्सपेङले आफैं विकास गरेको “ट्युरिङ” एआई चिप कम्पनीको सबैभन्दा ठूलो प्रतिस्पर्धात्मक हतियार हो। यही चिपमार्फत स्वचालित ड्राइभिङ, रोबोटिक्स र अन्य फिजिकल एआई प्रणालीमा कम्पनीले उल्लेखनीय अग्रता हासिल गर्ने दाबी गरिएको छ। रोबोट र अटोमोबाइल दुवै क्षेत्रमा सेन्सर प्रविधि र हार्डवेयर धेरै हदसम्म समान हुने भएकाले यी दुई क्षेत्रलाई एकसाथ अघि बढाएर ठूलो फड्को मार्ने रणनीति कम्पनीले लिएको छ।
फिजिकल एआईको मुख्य आधारका रूपमा रोबोट र अटोमोबाइललाई लिइँदै आएको छ। यही कारण पछिल्लो समय अटो निर्माता कम्पनीहरू गोदाम, कारखाना तथा सेवा क्षेत्रमा प्रयोग हुने रोबोट विकासतर्फ आकर्षित भइरहेका छन्। एक्सपेङको यो रणनीति टेस्लाका सीईओ एलन मस्कले अघि सारेको रोबोट्याक्सी र मानवरूपी रोबोट विस्तार योजनासँग मिल्दोजुल्दो देखिन्छ।
विश्वव्यापी रूपमा एआईको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा अटो कम्पनीहरू प्रविधि कम्पनीमा रूपान्तरण हुने प्रयासमा छन्। यसै सन्दर्भमा, चिप निर्माता कम्पनी आर्म होल्डिङ्सले पनि रोबोटिक्स बजारमा आफ्नो उपस्थिति विस्तार गर्न छुट्टै फिजिकल एआई इकाइ स्थापना गरेको जनाएको छ। अर्काे चिनियाँ अटो निर्माता ली अटोले सन् २०२३ मै एआई केन्द्रित रणनीति सार्वजनिक गर्दै वार्षिक रूपमा ६ अर्ब युआनभन्दा बढी लगानी गर्दै आएको छ।
एक्सपेङको यो घोषणा चीनको अटो बजारमा जारी दीर्घकालीन मूल्य युद्धका बीच आएको हो, जसले उद्योगको नाफामा दबाब सिर्जना गरेको छ। सोही कार्यक्रममा एक्सपेङले चार परिमार्जित कार मोडल सार्वजनिक गर्दै ३डी नेभिगेसन, दृष्टि सीमाभन्दा बाहिरका जोखिम चेतावनी प्रणाली र उन्नत स्वचालित ड्राइभिङ सफ्टवेयरजस्ता नयाँ सुविधामा जोड दिएको छ।
कम्पनीले स्वचालित ड्राइभिङ र मानवरूपी रोबोट विकासका लागि कर्मचारी भर्ना र लगानी तीव्र रूपमा बढाइरहेको जनाएको छ। आर्थिक पक्षमा भने एक्सपेङले चालु वर्षको तेस्रो त्रैमासिकमा ५० मिलियन अमेरिकी डलर नोक्सानी बेहोरेको छ। यद्यपि, हे सियाओपेङले सन् २०२५ को अन्त्यसम्म कम्पनी नाफा–नोक्सानी बराबरीमा पुग्ने विश्वास व्यक्त गरेका छन्।
