एनसेलको ‘युवा सिम’: सस्तोमा स्मार्ट कनेक्टिभिटी

एनसेलले जेन–जी पुस्ताका विद्यार्थी तथा युवाको सञ्चार आवश्यकतालाई ध्यानमा राख्दै नयाँ आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ सञ्चालनमा ल्याएको छ। सुलभ शुल्कमा गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धताअनुसार ल्याइएको यो प्याकले युवा पुस्तालाई डिजिटल संसारसँग सधैं जोडिराख्ने लक्ष्य लिएको छ।

सन् १९९७ पछि जन्मिएका नेपाली नागरिकले तोकिएको प्रक्रिया पूरा गरी ‘युवा सिम’ लिन सक्नेछन्। आज शनिबार (पुष २६)देखि औपचारिक रूपमा सञ्चालनमा आएको यो प्याक करसहित रु. २९९ मा उपलब्ध छ। प्याकमा अनलिमिटेड एनसेल–टु–एनसेल कल, ५ जीबी मोबाइल डेटा, डिजिटल वालेट इसेवा र खल्ती प्रयोग गर्दा डेटा शुल्क नलाग्ने सुविधा, साथै अनलाइन शिक्षण प्लेटफर्म ‘मेरो स्कुल’ मा निःशुल्क पहुँच समावेश गरिएको छ। यी सबै सेवा सुविधा २८ दिनसम्म मान्य रहनेछन्।

युवा सिम प्रयोगकर्ताले एनसेलबाट अन्य स्थानीय नेटवर्कमा गर्ने कलमा पनि विशेष छुट पाउनेछन्। अफ–नेट कलका लागि प्रति मिनेट मात्र रु. १ शुल्क लाग्ने व्यवस्था गरिएको छ। साथै, २८ दिनभित्र ५ जीबी डेटा सकिएपछि पनि पे–एज–यू–गो सेवामार्फत प्रति एमबी ५० पैसामा डेटा प्रयोग गर्न सकिनेछ।

एनसेलका चिफ कन्सुमर बिजनेस अफिसर उपाङ्ग दत्तले युवालाई लक्षित यो प्याक सार्वजनिक गर्न पाउँदा खुशी व्यक्त गर्दै भने, “आकर्षक सेवा सुविधा बन्डल गरिएको ‘युवा सिम’ ले युवालाई सधैं कनेक्टेड रहन सहयोग गर्दै अवसर र डिजिटल भविष्यसँग जोड्नेछ। यसले उनीहरूको डिजिटल जीवनशैलीलाई सहज बनाउनुका साथै शिक्षामा पनि सहयोग पुर्‍याउने विश्वास लिएका छौं।”

यस प्याकको अर्को विशेषता सामाजिक सञ्जाल लक्षित अफर हो। युवाहरूका लागि २४ घण्टासम्म मान्य १ जीबी डेटा मात्र रु. १९ मा उपलब्ध गराइएको छ, जसबाट फेसबुक, टिकटक र इन्स्टाग्राम प्रयोग गर्न सकिन्छ। यसले युवालाई सामाजिक सञ्जालमार्फत सधैं अपडेटेड रहन मद्दत गर्ने एनसेलको भनाइ छ।

‘युवा सिम’ लिन नजिकको एनसेल सेन्टरमा गई नागरिकता वा ड्राइभिङ लाइसेन्स र विद्यार्थी परिचयपत्र पेश गर्नुपर्नेछ। यदि आफ्नै नागरिकता वा लाइसेन्स नभएमा, अभिभावकको सरकारी परिचयपत्रसँगै विद्यार्थी परिचयपत्र बुझाएर पनि सिम लिन सकिने व्यवस्था गरिएको छ।

एनसेलका अनुसार यो प्याकले युवाले बढी प्रयोग गर्ने सेवाहरूमा सुलभ दरमा कनेक्टिभिटी सुनिश्चित गर्छ। हरेक २८ दिनपछि सेवा निरन्तर प्रयोग गर्न, समयसीमा सकिनुअघि उही शुल्कमा प्याक पुनः खरिद गर्नुपर्नेछ। यो प्याक एनसेल एप वा *१२३# डायल गरी सजिलै खरिद गर्न सकिन्छ।