साना किसान लघुवित्तको सशक्त प्रगति

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको चौबीसौँ वार्षिक साधारणसभा पुस २५ गते सफलतापूर्वक सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष खेम बहादुर पाठकको अध्यक्षतामा सम्पन्न सभाले शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्तावसहित महत्वपूर्ण आर्थिक तथा नीतिगत निर्णयहरू पारित गरेको छ।

सभाले शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ८७ करोड ५० लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको जानकारी दिइयो।

साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा अन्य वित्तीय विवरणहरू समेत सर्वसम्मत रूपमा पारित गरेको छ। लेखापरीक्षण गरिएको वित्तीय विवरणअनुसार उक्त आर्थिक वर्षमा कम्पनीको जारी तथा चुक्ता पुँजी ४ अर्ब ३१ करोड २६ लाख २१ हजार रुपैयाँ, कुल सम्पत्ति ४१ अर्ब ५० करोड ४९ लाख ७३ हजार रुपैयाँ पुगेको छ।

कम्पनीको वित्तीय सूचकांकअनुसार प्रति शेयर आम्दानी २०.२९ रुपैयाँ, प्रति शेयर बुक नेटवर्थ २३९.३८ रुपैयाँ, जम्मा पुँजीमा प्रतिफल ८.४८ प्रतिशत, मूल्य–आम्दानी अनुपात ४३.५९ रहेको छ।

सभामा बोल्दै अध्यक्ष खेम बहादुर पाठकले गरीबी निवारणका लागि ग्रामीण क्षेत्रका साना किसानलाई केन्द्रमा राखेर लगानी गर्दै आएको संस्थालाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। “सबैभन्दा पहिले गरीब र किसानलाई माथि उठाउन सके देशको अर्थतन्त्र स्वतः बलियो बन्छ,” उनले भने।

त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत (सीईओ) बासु अधिकारीले स्वागत मन्तव्यका क्रममा संस्थाले उद्यम र उद्यमशीलता विकासमा विशेष ध्यान केन्द्रित गरेको बताए। उनले युवा, महिला तथा गरीब किसानको आर्थिक सवलीकरणका कार्यक्रमलाई सरकार तथा दातृ निकायहरूसँग सहकार्य गर्दै निरन्तर अघि बढाइने प्रतिबद्धता जनाए।

कम्पनीका अनुसार हाल देशका ७७ जिल्लाका ५४६ स्थानीय तहमा १ हजार ४६३ साझेदार संस्था आबद्ध छन्। ती सहकारी संस्थामार्फत ८८ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ बराबरको आन्तरिक पूँजी निर्माण तथा परिचालन गरिएको छ। आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म कम्पनीले ९ लाख ४१ हजार ७३१ साना किसान परिवारलाई लघुवित्त सेवा प्रदान गर्न सफल भएको जनाएको छ।