गण्डकी प्रदेशको राजधानी पोखरामा सूचना–प्रविधि र ‘स्टार्टअप’ व्यवसाय प्रदर्शनी आयोजना हुन लागेको छ। नवप्रवर्तनमार्फत रोजगारी सिर्जना र बेरोजगारी न्यूनीकरण गर्न युवापुस्ताका उद्यमीले उत्पादन गरेका प्रविधि, व्यवसाय र सेवाहरू प्रदर्शन गर्न मेला आयोजना गरिने जनाएको छ।
नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य सङ्घसँग सहकार्य गर्दै आगामी माघको अन्तिम साता प्रदर्शनी गर्ने योजना बनाएको छ। मेलामा गण्डकी प्रदेशभित्रबाट छानिएका १५ नवीन उद्यम, वस्तु वा सेवामा आधारित व्यवसाय प्रदर्शन गरिनेछ।
राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले जानकारी दिनुभयो, “प्रदर्शनी प्रतिस्पर्धात्मक हुनेछ। प्रथम हुनेले रु ४० हजार, द्वितीयले रु ३० हजार र तृतीयले रु २० हजार पुरस्कार पाउनेछन्।”
प्रदर्शनीमा सहभागी हुन चाहनेले अनलाइन फाराम भर्नुपर्नेछ। सहभागीको उमेर ४० वर्षभन्दा कम, उद्योग/व्यवसाय सञ्चालनको अवधि १० वर्षभन्दा बढी नहुने, सरकारी कार्यालयमा दर्ता भएको र वार्षिक कारोबार रु १५ करोडभन्दा बढी नहुने हुनु पर्नेछ।
पोखराबाट सुरु हुने यो प्रदर्शनी देशका सातै प्रदेशमा आयोजना हुने योजना रहेको छ। अन्तिम चरणमा काठमाडौँमा हुने बृहत् प्रतिस्पर्धात्मक प्रदर्शनीमा प्रदेशस्तरमा उत्कृष्ट व्यवसाय प्रदर्शन गर्नेहरूलाई सामेल गरिने जनाइएको छ।
प्रदर्शनीको तयारीका क्रममा पोखरामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा कास्कीसहित स्याङ्जा, बागलुङ, तनहुँ र पर्वतका उद्योगी/व्यवसायीको सहभागिता रहेको थियो। उद्यमशीलता विकास विज्ञ इन्जिनियर रमेश सुवेदीले नवप्रवर्तनमार्फत रोजगारी सिर्जना र युवा पलायन रोक्न मेला आयोजना गरिएको बताए।
