दुगुनागढी किल्ला: इतिहास र पर्यटनको आकर्षक गन्तव्य

भोटेकोसी गाउँपालिका–३ लिस्तिकोटस्थित ऐतिहासिक युद्धकिल्ला दुगुनागढीमा आन्तरिक र विदेशी पर्यटकको घुइँचो बढ्दो छ। विसं २०७२ को विनाशकारी भूकम्पले भत्किएको यो किल्ला नेपाल–चीन सिमाना नजिक, नेपाली सेनाको अगुवाइमा मौलिक स्वरुपमा पुनर्निर्माण गरिएको हो। करिब २०० रोपनी क्षेत्रमा फैलिएको दुगुनागढी समुद्री सतहबाट २,२०० मिटर उचाइमा अवस्थित छ।

स्थानीय र पर्यटकहरू दुगुनागढीमा पुगेर इतिहास अध्ययन, गाउँले परिवेशमा रमाइलो र मनोरम वातावरणको आनन्द लिइरहेका छन्। आन्तरिक पर्यटक अमृतमान श्रेष्ठका अनुसार, यस ठाउँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्वले पर्यटकको रोजाइमा पर्न सफल भएको छ।

स्थानीय वृद्ध कृष्णबहादुर प्रधानले जानकारी दिनुभयो, “प्रधानमन्त्री बनेको नौ वर्षपछि १९१२ सालमा श्री ३ जङ्गबहादुर राणाको निर्देशनमा यो किल्ला निर्माण गरिएको थियो। त्यतिबेला नेपाल र भोटबीच खटपट चलिरहेको थियो।”

युद्धको समयमा जङ्गबहादुर राणाले तिब्बतको सेनामाथि घुँडा टेकेर गोली प्रहार गरेको इतिहास किल्लामा देखिने निशानले अझै जीवित राखेको पर्यटक सरस्वती श्रेष्ठले बताइन्। भोटेकोसी गाउँपालिका–३ का वडाध्यक्ष निमासोना शेर्पाले भने, “प्राचीन सभ्यतालाई प्रतिविम्बित गर्ने यो ठाउँले आफ्नै संस्कार, संस्कृति र पहिचान बोकेको छ। चारैतिर हिमालले घेरिएको दुगुनागढी निकै रमणीय छ।”

किल्लामा नेपाल एकीकरणको समयमा प्रयोग भएका बाटो, कोट र सैनिक इतिहासको जगेर्ना गर्ने नेपाली सेनाले विगत पाँच वर्षदेखि माउन्टेन ट्रेल रेस समेत आयोजना गर्दै आएको छ। पर्यटकहरू एकपटक किल्ला पुग्दा साथीभाइ, परिवार र आफन्तसहित पुनः भ्रमण गर्ने इच्छा राख्छन्।