प्रभू बैंकमा नेतृत्वको निरन्तरता र बहस

मुलुकमा च्याउसरी बढेका वित्तीय संस्थाहरूलाई एकत्रित गर्दै ठूलो र सबल बैंक निर्माण गर्ने सीमित व्यक्तित्वहरूमध्ये एकका रूपमा अशोक शेरचन चिनिन्छन्। हाल प्रभू बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका शेरचनले वाणिज्य बैंकको रूपमा प्रभू बैंकलाई पछिल्लो ११ वर्षदेखि नेतृत्व गरिरहेका छन्।

२०७९ माघ १८ गते सुरु भएको उनको तेस्रो कार्यकाल अझै करिब साढे १२ महिना बाँकी छ। तर कार्यकाल सकिन नपाउँदै केही सञ्चालक समूहबाट उनलाई हटाउने उद्देश्यसहित नियोजित ‘मिडिया ट्रायल’ सुरु गरिएको भन्दै बैंकको उच्च व्यवस्थापकीय तह असन्तुष्ट बनेको छ।

शेरचनको नेतृत्व यात्रा झन्डै दुई दशक लामो छ। करिब १८ वर्षअघि तत्कालीन प्रभू फाइनान्सको सिइओ बनेका उनीकै नेतृत्वमा संस्थाले विकास बैंक हुँदै वाणिज्य बैंकको रूप लिएको हो। जेनिथ फाइनान्स, गौरीशंकर डेभलपमेन्ट बैंक, किष्ट बैंक तथा पछिल्लो समय सेन्चुरी बैंक गाभिँदा समेत शेरचन नै निरन्तर सिइओका रूपमा रहँदै आएका छन्।

यद्यपि, प्रभू म्यानेजमेन्ट प्रालिमा लगानी गरिएको २७ करोड रुपैयाँ कर्जा दुरुपयोगको विषयमा छानबिनका क्रममा शेरचन मङ्सिर १४ देखि पुस ११ गतेसम्म २७ दिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा परे। मुद्दा दर्ता नभएकै अवस्थामा भएको यस कारबाहीपछि बैंकका केही सञ्चालकहरूले उनलाई पुनः व्यवस्थापकीय जिम्मेवारीमा फर्कन नदिन खोजेको बुझाइ बैंकका उच्च व्यवस्थापकहरूको छ।

यसैबीच, शेरचनले राजीनामा नदिएको र कार्यकाल बाँकी रहँदै केही सञ्चालक तथा प्रवर्द्धकहरूले नयाँ सिइओ खोजी थालेको भन्दै विभिन्न नामहरू मिडियामा आएका छन्। नबिल बैंकका पूर्व सिइओ ज्ञानेन्द्रप्रसाद ढुङ्गाना र एनएमबी बैंकका पूर्व सिइओ सुनिल केसीको नाम चर्चामा आए पनि दुवैले औपचारिक छलफल नभएको बताएका छन्। केसीले प्रभू बैंकको नेतृत्व लिन हाल कुनै तयारी नरहेको स्पष्ट पारेका छन् भने ढुङ्गाना पनि आफू त्यस्तो दौडमा नरहेको बताउँछन्।