तनहुँमा पुरिएको बस फेला, उत्खनन जारी

तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा पुरिएको बसको उत्खनन आज पनि जारी रहने भएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिरोले बगाएर नदीमा खसेको बसको अवशेष आइतबार फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान १०:४५ बजे बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो। बस विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९, सिमलताल क्षेत्रमा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको ‘गणपति डिलक्स’ लेखिएको बागमती प्रदेश ०३–००१ख२४९५ नम्बरको बस हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय साराङघाट र आबुँखैरेनीबाट गरी १४ जनाको टोली घटनास्थलमा खटिएको थियो। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले भने, “बस पूर्ण रूपमा यकिन नभए पनि उत्खनन प्रक्रिया जारी छ। थप अनुसन्धान पनि भइरहेको छ।”

अहिलेसम्म बस नदी किनारमा पुरिएको अवस्था देखिए पनि यसको पूर्ण स्थिति पुष्टि गर्न सकेको छैन। प्रहरीले उत्खनन र अनुसन्धान दुवै कार्यलाई प्राथमिकतामा राखेको छ।