गुर्जामा सडक सुविधा सुरु, दुर्गम बस्ती जुड्दै

‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ भन्ने म्याग्दीको प्रचलित भनाइले धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जाको विकटता झल्काउँछ। तर अब दुर्गम बस्तीलाई सडक सञ्जालमा जोड्ने काम चालु आर्थिक वर्षभित्रै सुरु भएको छ।

धवलागिरि गाउँपालिकाले लुलाङ–गुर्जा सडक योजना अन्तर्गत चालु आर्थिक वर्षमा करिब चार किलोमिटर ट्र्याक बनाउने लक्ष्य राखेको छ। गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले भने, “आर्थिक वर्ष २०७९/८० देखि सुरु भएको यो योजना हाम्रो गाउँपालिकाको गौरवको प्राथमिकता हो। यसअघि तीन वर्षमा लुलाङदेखि भैसीमानेसम्म करिब १८ किलोमिटर सडक मार्ग खुलेको थियो।”

चालु आर्थिक वर्षमा रु १ करोड ७० लाख विनियोजन गरिएको योजनाअन्तर्गत छनोट भएको ठेकेदार लुलु कन्स्ट्रक्सन ले भैसीमाने खाल्टादेखि झिरसोसम्म करिब एक किलोमिटर मार्ग खोलिसकेको छ। यसै महिनामा रु ८८ लाख ८५ हजारमा ठेक्का सम्झौता भएको थियो।

थप चार किलोमिटर सडक मार्ग खुलेपछि गुर्जा यातायात सञ्जालमा पूर्ण रूपमा जोडिने वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताए। “दुई वर्षअघि गुर्जादेखि लुलाङ पुग्न दिनभर पैदल यात्रा गर्नुपर्ने अवस्था थियो। अहिले गाडी पुग्ने झिरसोदेखि ३० मिनेट पैदल यात्रा गरेर गुर्जा पुगिन्छ। सडक चलेपछि गुर्जाबाट मुना दुई घण्टा ३० मिनेट, बेनी पाँच घण्टा र पोखरा सात घण्टामा पुग्न सकिन्छ।”

सडक मार्ग खोल्नका लागि विभिन्न ठाउँमा ग्यावियन, मेसिनरी र पलम पर्खाल पनि निर्माण गरिएको छ। सडकको ग्रेड मिलाउने, साँघुरो ठाउँ फराकिलो पार्ने र पक्की नाला निर्माण गर्न चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट रु ३ करोड र गण्डकी प्रदेश सरकारबाट रु ५० लाख विनियोजन गरिएको छ।

गुर्जा जोड्ने सडकमा पर्ने लमसुङ स्थित दरखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि प्रदेश सरकारले ठेक्का सम्झौता गरिसकेको छ। सडक सुविधा भएपछि दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री ढुवानी र बिरामीलाई अस्पताल पुर्‍याउन सहज हुनेछ।

गुर्जामा ६५ घरधुरीमा बसोबास गर्ने १,५०५ जनासम्मका बासिन्दा छन्। अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायले यहाँ बसोबास गरेका छन्। सडक निर्माण भएपछि गुर्जाका बासिन्दा मात्र नभई आन्तरिक पर्यटक पनि सहज रूपमा गाउँमा पुग्ने अपेक्षा गरिएको छ।