काठमाडौँ । नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारण सभाले १२.५० प्रतिशत नगद लाभांश पारित गरेको छ । सोमबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो ।
साधारण सभाले संस्थापक शेयरधनीतर्फबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्ने एक सञ्चालक पदमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ । साथै, बैंकको आजै बसेको सञ्चालक समितिको ६९९औँ बैठकले बैंक सञ्चालक समितिको अध्यक्षमा सञ्चालक निर्वाण कुमार चौधरीलाई चयन गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकबाट सपथ ग्रहण पश्चात उनले अध्यक्षको कार्यभार सम्हाल्नेछन् ।
यसैैसाथ, निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले सफलतापूर्वक आफ्नो दुई कार्यकाल सम्पन्न गरेको समेत बैंकले जनाएको छ । उनको नेतृत्वमा बैंकले दिगो बैंकिङमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ मा बैंकले रु ५ अर्ब (प्रतिकित्ता अंकित मूल्य रु १०० का दरले ५ करोड कित्ता) बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ नयाँ पुँजी उपकरण जारी गरेको छ ।
