दुर्घटना न्यूनीकरणका लागि भन्दै काठमाडौं उपत्यका ट्राफिक कार्यालयले सप्ताह–२०८२ अन्तर्गत आज काठमाडौंको जडिबुटीमा कार्यक्रम गरेको छ ।

गत शुक्रबारदेखि एक हप्तासम्म २ माघमा समापन गर्नेगरी ट्राफिक सप्ताह सुरु गरिएको हो । जस अन्तर्गत उपत्यका ट्राफिक प्रहरी कार्यालयले जडिबुटीमा सचेतना कार्यक्रम गरेको हो ।
ट्राफिकले गत शुक्रबारदेखि रामशाहपथ, कोटेश्वर, सातदोबाटो, कलंकी लगायत काठमाडौं उपत्यकाका विभिन्न स्थान र मुलुकका अधिकांश ठाउँमा सचेतना कार्यक्रम गरिरहेको छ ।
‘विविध कारणले दुर्घटना हुने र जनधनको क्षति हुने क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यअनुसार ट्राफिक सप्ताह गरिरहेको हो । जहाँ ट्राफिकसम्बन्धी जनचेतना फैलाउने काम गर्दै आएको छ ।
शुक्रबारबाट रक्तदान गरेर सुरु भएको यो अभियानमा विविध कार्यक्रमहरु समेटिएका छन् ।
ट्राफिक सम्बन्धी जनचेतना मुलक सन्देश दूरसञ्चार सेवा प्रदायक कम्पनीमार्फत रिङटोनको रुपमा बजाउने, काठमाडौं उपत्यकामा ट्राफिक सम्बन्धी बोर्डहरु राख्ने, दुर्घटना सम्बन्धी वृत्तचित्र प्रदर्शन गर्ने लगायतका कार्यक्रममा सर्वसाधारणलाई उपस्थित गराइएको र आफूपनि सहभागि भएको स्वंयसेवी तारा तण्डुकारले जानकारी दिइन् ।

रात्रिकालिन लामो तथा मध्यम दुरीका सवारीहरुमा एक मिनेटको दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामुलक वृत्तचित्र प्रदर्शन, राइड सेयर एप चालकहरुलाई दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, भाडाका तथा सार्वजनिक सवारी साधनमा जीपीएस र सीसीक्यामेरा राख्न आवश्यक समन्वय समेत गरिएको छ ।
गत शनिबार ट्राफिक प्रहरी कार्यालय रामशाहापथले सहयोगी गैर आवासीय नेपाली (एनआरएन) का रश्मी थापालाई सम्मान गरेको थियो ।

