आज काठमाडौँका विभिन्न स्थानमा केही समयका लागि विद्युत् कटौती हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका तीन वटा फिडर क्षेत्रमा बिजुली आपूर्ति अवरुद्ध हुने जनाएको हो।
प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर र शिवपुरी फिडरमा फिडरको भार सन्तुलन मिलाउने तथा नयाँ पासिकोट फिडर निर्माणसँगै ब्रेकर र भूमिगत तार चार्ज गर्ने कार्यका लागि विद्युत् कटौती गर्न लागिएको हो।
सूचना अनुसार गणेशस्थान फिडरअन्तर्गत भोटेचोक, गणेशस्थान आसपासका क्षेत्रमा आज बिहान ११:३० बजेदेखि अपराह्न १:३० बजेसम्म बिजुली कटौती हुनेछ।
त्यसैगरी भङ्गाल फिडर मातहतको तल्लो भङ्गाल, धोविखोला करिडोरलगायत क्षेत्रमा बिहान ११:३० बजेदेखि अपराह्न १:०० बजेसम्म विद्युत् आपूर्ति रोकिनेछ।
यस्तै, शिवपुरी फिडरअन्तर्गत बूढानीलकण्ठ नगरपालिकाको पासिकोट, च्यासिङडोललगायत क्षेत्रमा दिउँसो १:०० बजेदेखि २:०० बजेसम्म बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार तोकिएको मर्मत तथा सुधार कार्य समयभन्दा अगावै सम्पन्न भएमा उल्लेखित समयभन्दा पहिले नै विद्युत् आपूर्ति पुनः नियमित गरिनेछ। उपभोक्तालाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै प्राधिकरणले सहकार्यका लागि आग्रह गरेको छ।
