पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज पुस ३० गते अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै पुस २५ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो।
कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको छ। यसमध्ये सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशत हिस्सा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आरक्षित गरिएको हो।
सोअनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ५ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गरेको छ, जसको कुल मूल्य ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबर हुन्छ। यो आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपालीहरूका लागि मात्र खुला गरिएको हो।
आईपीओमा आवेदन दिन न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
