खेलकुद क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने उद्देश्यसहित ‘पेसएक्स स्पोटर्स’ नामको संस्था स्थापना हुन लागेको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेल क्षेत्रमा रहेको चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्यसहित ‘पेसएक्स स्पोटर्स’ अन्तिम तयारीको चरणमा पुगेको जानकारी गराएको हो ।
‘पेसएक्स स्पोटर्स’ ले आफूलाई केवल एउटा प्रशिक्षण केन्द्रमा सीमित नराखी खेलाडी, विद्यालय, समुदाय, निजी क्षेत्र तथा खेलकुदसँग सम्बन्धित निकायहरूलाई जोड्ने साझा मञ्च का रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।
खेलकुदलाई शिक्षा, जीवनशैली र राष्ट्रिय विकासको अभिन्न अङ्गका रूपमा स्थापित गर्नु ‘पेसएक्स स्पोटर्स’को दीर्घकालीन दृष्टिकोण हो । प्रतिभावान खेलाडीको पहिचान गरी उनीहरूको शारीरिक, मानसिक र नैतिक विकास गर्दै स्थानीय तहबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने स्पष्ट मार्ग निर्माण गर्नु संस्थाको मुख्य उद्देश्य पनि रहेको छ ।
‘पेसएक्स स्पोटर्स’ नेपालमा खेल व्यवस्थापन तथा खेलाडी विकासमा समर्पित संस्था हुनेछ । यस संस्थाले जगैदेखि खेलकुद विकास, खेलाडीको समग्र उन्नति तथा संस्थागत सहकार्यमार्फत दिगो र समावेशी खेलकुद प्रणाली निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
युवा पुस्तामा लगानी, खेल शिक्षा र समुदायको सक्रिय सहभागितामार्फत सक्षम खेलाडी उत्पादन गर्नुका साथै स्वस्थ, अनुशासित र जिम्मेवार नागरिक निर्माणमा योगदान पुरÞ्याउने प्रतिबद्धता पनि ‘पेसएक्स स्पोटर्स’ ले व्यक्त गरेको छ ।
संस्थाको मुख्य कार्यक्षेत्रहरू खेलाडीको समग्र विकास, विद्यालय तथा कलेज खेलकुद कार्यक्रम, जगैबाट प्रतिभा पहिचान र विकास, कार्यस्थल आधारित खेलकुद तथा स्वास्थ्य कार्यक्रम र प्रतियोगिता तथा सामुदायिक संलग्नता रहेको छ ।
