महेन्द्र शक्ति माविको ६५औँ वार्षिकोत्सव सम्पन्न, पूर्व विद्यार्थीबाट न्यानो कपडा वितरण

माघ १ , २०८२/ गोरखाको सहिद लखन गाउँपालिका–१, बक्राङस्थित श्री महेन्द्र शक्ति माध्यमिक विद्यालयको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य समारोहका बीच सम्पन्न भएको छ। वार्षिकोत्सवको अवसरमा विद्यालयका पूर्व विद्यार्थीहरूको सक्रिय पहलमा वर्तमान अध्ययनरत ५० जना विद्यार्थीलाई न्यानो कपडा (स्वीटर) वितरण गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा अधिकृत राजेन्द्र खनाल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले विद्यालयको शैक्षिक सुधार र विकासमा पूर्व विद्यार्थीहरूको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। विद्यालयप्रतिको कृतज्ञता झल्कने यस प्रकारको सहयोग कार्य पवित्र र अनुकरणीय भएको उहाँको भनाइ थियो।

पूर्व विद्यार्थीहरूको तर्फबाट पुनर्मिलन कार्यक्रमकी पहलकर्ता मीना अर्यालले २० वर्षपछि आफ्नो विद्यालयमा फर्किंदा भावुक भएको बताउँदै विद्यालय र गुरुहरूले दिएको शिक्षाले नै आफूहरूलाई आजको स्थानसम्म पुर्‍याएको उल्लेख गर्नुभयो। सामाजिक सञ्जालमार्फत देश–विदेशमा रहेका साथीहरूलाई एकताबद्ध गरी यो कार्यक्रम सम्भव भएको जनाउँदै न्यानो कपडा केवल सामग्री नभई दाइ–दिदीहरूको माया र आशीर्वादको प्रतीक भएको उहाँले बताउनुभयो।

२१ जना पूर्व विद्यार्थीहरूको सामूहिक सक्रियतामा गरिएको यस सहयोग कार्यमा देश तथा विदेशमा रहेर पनि विद्यालयप्रतिको प्रेम र जिम्मेवारी भाव स्पष्ट देखिएको विद्यालय प्रशासनले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक प्रकाश अर्यालले पूर्व विद्यार्थीहरूको स्वस्फूर्त सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यालय परिवारलाई थप ऊर्जा र प्रेरणा दिएको बताउनुभयो।

वार्षिकोत्सवको अवसरमा पूर्व विद्यार्थी शान्ता पाण्डेले आफ्ना स्वर्गीय बुवा टीकाप्रसाद पाण्डेको स्मृतिमा विद्यालयलाई तातो–चिसो पानीको डिस्पेन्सर प्रदान गर्नुभएको थियो भने परतबहादुर थापाबाट स्टेशनरी सामग्री वितरण गरिएको थियो। साथै, पूर्व शिक्षकहरूको सम्मान, विभिन्न अतिरिक्त क्रियाकलापका विजेतालाई पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।