नेपालमा छरिएर रहेका स्वास्थ्यसम्बन्धी सूचना तथा तथ्याङ्कलाई एकीकृत गर्ने उद्देश्यसहित नयाँ पहल सुरु गरिएको छ। ‘एशिएन इ–हेल्थ इन्फरमेशन नेटवर्क’को सहयोगमा स्वास्थ्य सेवा विभागले स्वास्थ्य तथ्याङ्कको सुदृढीकरण तथा एकीकरण प्रक्रिया अघि बढाएको हो।
स्वास्थ्य तथ्याङ्कलाई डिजिटल माध्यमबाट व्यवस्थित गरी आम नागरिकले स्वास्थ्यसम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नु यस पहलको मुख्य लक्ष्य रहेको कार्यक्रमका प्रमुख विशेषत्र डा. झविन्द्र भण्डारीले जानकारी दिए। उनले ‘नेपालमा स्वास्थ्य तथ्याङ्कको सुशासनका लागि मार्गचित्र’ विषयक कार्यशालामा यस किसिमको पहल नेपालसहित भियतनाम र मङ्गोलियामा पनि सुरु गरिएको बताए।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख केशव पण्डितले नेपालको संविधान तथा विभिन्न नीति–कानुनमा नागरिकका स्वास्थ्य अधिकार सुनिश्चित गरिए पनि ती अधिकारसम्बन्धी सूचना आम नागरिकसम्म सहज रूपमा नपुगेको उल्लेख गरे। उनले यस्तो अवस्थामा स्वास्थ्य तथ्याङ्कलाई एकीकृत र डिजिटल बनाउने पहल अत्यन्त आवश्यक रहेको बताउँदै यसले डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयनमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे।
अधिवक्ता रुपनारायण श्रेष्ठले विद्यमान कानुनमा रहेका स्वास्थ्यसम्बन्धी प्रावधान, साथै ती प्रावधानलाई एकीकृत र डिजिटलाइज गर्ने क्रममा हालसम्म भएका पहलहरूको जानकारी गराए।
विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य सेवा विभागले चार वर्षअघि एकीकृत स्वास्थ्य सूचना प्रणालीसम्बन्धी दशवर्षे मार्गचित्र तयार गरी कार्यान्वयनमा ल्याइसकेको छ। उक्त मार्गचित्रमा सम्पूर्ण स्वास्थ्य सूचना प्रणालीलाई एकीकृत तथा डिजिटल बनाएर आम जनतालाई सहज र विश्वसनीय जानकारी उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ।
कार्यशालामा सहभागीहरूले विश्वका अन्य देशहरूमा जस्तै नेपालमा पनि कानुनी र नीतिगत तहमा स्वास्थ्य सूचनालाई आम नागरिकले सजिलै उपयोग गर्न सक्ने क्षमता विकास गर्न आवश्यक रहेको सुझाव दिएका थिए। यस पहलले स्वास्थ्य क्षेत्रको सुशासन, पारदर्शिता र सेवाको पहुँचलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
