भुजुङ्ग हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुल्दै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन सम्पन्न गरेपछि कम्पनीले अब माघ १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गर्न लागेको हो।

कम्पनीले जारी पूँजी एक अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सोअनुसार पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि एक लाख कित्ता शेयर निष्कासन गरिसकेको छ।

दोस्रो चरणअन्तर्गत कम्पनीले कर्मचारीहरूका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता शेयर सुरक्षित राखी बाँकी रहेको ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्तालाई निष्कासन गर्न लागेको हो।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। शेयर निष्कासन छिटोमा माघ १५ गते र ढिलोमा माघ २६ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।