कामना सेवा विकास बैंकद्वारा मेचीनगरको आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत झापाको मेचीनगर नगरपालिका–०८, सृजनाचोकस्थित आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ। बैंकको शाखा कार्यालय इट्टाभट्टामार्फत उक्त सहयोग प्रदान गरिएको हो।

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसाल ले मेचीनगर नगरपालिका–०८ का वडा अध्यक्ष गिरीराज धमला को उपस्थितिमा स्वास्थ्य केन्द्रका प्रमुख दिवाकर पौडेल लाई वाटर डिस्पेन्सर हस्तान्तरण गर्नुभएको थियो। यस अवसरमा बैंकको सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता र समुदायप्रतिको सहकार्य भावनालाई जोड दिइएको थियो।

स्वास्थ्य केन्द्रका प्रमुख पौडेलले बैंकको यस सहयोगबाट केन्द्रमा सेवा लिन आउने सबै वर्गका बिरामीहरू लाभान्वित हुने बताउनुभयो। विशेषगरी गरिब तथा असहाय सेवाग्राहीहरूका लागि स्वच्छ पिउने पानीको सुविधा उपलब्ध हुनु ठूलो राहत भएको उहाँको भनाइ छ। साथै, परोपकारी कार्यमार्फत समुदायप्रति योगदान दिएकोमा उहाँले बैंकप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

बैंकले आगामी दिनहरूमा पनि सरोकारवालाहरूसँगको समन्वय र सहकार्यमा शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा यस्ता सहयोगमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।