‘ट्रान्सफर्मर’ ईभी दीपल ई–०७ नेपालमा, विलासिता र शक्तिको नयाँ युग

नेपाली अटोमोबाइल क्षेत्रमा प्रविधि, विलासिता र बहुउपयोगी क्षमताको अनौठो संयोजनसहित एमएडब्लु वृद्धि ग्रुपले ‘दीपल ई–०७ ट्रान्सफर्मर एक्स’ को औपचारिक बिक्री वितरण सुरु गरेको छ। गत बुधवार सार्वजनिक गरिएको यस इलेक्ट्रिक सवारी साधनले नेपालमै पहिलो पटक स्वरूप परिवर्तन गर्न सक्ने अत्याधुनिक प्रविधि भित्र्याएको छ।

गत वर्ष चर्चामा रहेको ई–०७ मोडलको परिष्कृत र उन्नत संस्करणका रूपमा आएको ‘ट्रान्सफर्मर एक्स’ ले केवल एउटा बटन थिच्दा विलासी एसयूभीबाट शक्तिशाली पिकअप ट्रकमा रूपान्तरण हुन सक्ने विशेषता राख्छ। स्वरूप परिवर्तनपछि पछाडिको भाग खुला भई १६०० लिटरको विशाल कार्गो स्पेस र ५३१ केजीसम्मको भार वहन क्षमता उपलब्ध हुन्छ, जसले व्यक्तिगत साहसिक यात्रा मात्र होइन, व्यावसायिक प्रयोजनलाई पनि सहज बनाउँछ।

प्रविधिका दृष्टिले यो गाडी अत्यन्त उन्नत छ। यसमा जडान गरिएको १९० किलोवाटको रियर ह्वील ड्राइभ मोटरले ३६५ न्युटन मिटर टर्क उत्पादन गर्छ, जसले सहरको ट्राफिकदेखि पहाडी बाटोसम्म प्रभावशाली प्रदर्शन सुनिश्चित गर्छ।

यसमा प्रयोग गरिएको ८९.९८ किलोवाट आवर क्षमताको ‘गोल्डेन शिल्ड २.०’ ब्याट्रीले एक पटकको पूर्ण चार्जमा ५६६ किलोमिटर (डब्लूएलटीपी प्रमाणित) रेन्ज प्रदान गर्छ। द्रुत चार्ज सुविधाअन्तर्गत ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री केवल १२ मिनेटमै चार्ज गर्न सकिने भएकाले लामो दूरीको यात्रा अझै सहज बनेको छ।

दीपल ई–०७ को भित्री सजावटले ‘सुपर लग्जरी’ अनुभव दिन्छ। गाडीमा २८.८६ इन्चको हेड–अप डिस्प्ले र १५.४ इन्चको सनफ्लो टच स्क्रिन जडान गरिएको छ। नाप्पा लेदरबाट बनेका चारवटै सिटमा मसाज, हिटिङ र भेन्टिलेसन सुविधा उपलब्ध छन्। अगाडिको सिटमा रहेको ‘जिरो ग्राभिटी मोड’ ले लामो यात्रामा पनि थकान कम गर्छ। पछाडिका यात्रुहरूका लागि छुट्टै टच स्क्रिनमार्फत एसी, सनसेड र सिटको अवस्था नियन्त्रण गर्न सकिने व्यवस्था गरिएको छ।

सुरक्षाका हिसाबले पनि यो गाडी मजबुत छ। एडास अन्तर्गतका १४ भन्दा बढी सुरक्षा फिचर, ३६० डिग्री क्यामेरा प्रणाली र एयर सस्पेन्सन यसमा समावेश छन्। एयर सस्पेन्सनका कारण ग्राउन्ड क्लियरेन्स २०० मिलिमिटरबाट बढाएर २३१ मिलिमिटरसम्म पुर्‍याउन सकिन्छ। साथै, ६०० मिलिमिटरसम्मको पानीमा पनि सहजै चल्न सक्ने क्षमता यस गाडीको थप विशेषता हो।

दीपल ई–०७ ट्रान्सफर्मर एक्स नेपाली बजारमा १ करोड ९ लाख ९९ हजार रुपैयाँको सुरुवाती मूल्यमा उपलब्ध छ। यो गाडी सेतो, कालो र खैरो रङका विकल्पमा पाइन्छ।

आधुनिक फिचर, शक्तिशाली ब्याट्री र बहुआयामिक प्रयोग क्षमताका कारण दीपल ई–०७ को आगमनसँगै नेपालमा प्रिमियम इलेक्ट्रिक सवारी साधनको प्रतिस्पर्धा अझै रोचक बन्ने देखिएको छ। सहरी सुविधा र साहसिक यात्राको खोजीमा रहेका आधुनिक ग्राहकका लागि यो गाडी एक आकर्षक र बलियो विकल्पका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।