नेपाल लाइफ ‘समृद्धि’ योजना खुला, लगानीका लागि नयाँ अवसर

नेपाल लाइफ म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा आउन लागेको ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ का इकाइहरू आज माघ ४ गतेदेखि सर्वसाधारणका लागि सार्वजनिक बिक्रीमा ल्याइएको छ। नेपाल धितोपत्र बोर्डले यस योजनाअन्तर्गत कुल १६ करोड इकाइ निष्कासन गर्न अनुमति प्रदान गरेको हो।

निष्कासन हुने कुल इकाइमध्ये बीज पुँजीका रूपमा २ करोड २४ लाख इकाइ कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्सका लागि र १६ लाख इकाइ योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटलका लागि सुरक्षित गरिएको छ। यी संस्थागत हिस्सा कटाएर बाँकी रहेको १३ करोड ६० लाख इकाइमा मात्र सर्वसाधारण लगानीकर्ताहरूले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताहरूले न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड ६० लाख इकाइसम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ। योजना छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते बैंकिङ समयपछि बन्द हुने जनाइएको छ। तर तोकिएको अवधिभन्दा अगाडि नै माग बमोजिम आवेदन परेमा माघ ८ गतेमै निष्कासन बन्द गरिने नेपाल लाइफ क्यापिटलले जानकारी दिएको छ।

यस योजनाको कोष प्रवर्द्धकका रूपमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ भने योजना व्यवस्थापकको जिम्मेवारी नेपाल लाइफ क्यापिटलले सम्हालेको छ।