दुग्ध क्षेत्र सुदृढीकरणका लागि ठोस नीति अपरिहार्य: नेपाल डेरी एसोसिएसन

काठमाडौं । नेपाल डेरी एसोसिएसनले आगामी माघ ६ र ७ गते आफ्नो २७औँ वार्षिक साधारण सभा, स्थापना दिवस तथा नवौँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भएको छ। उक्त महाधिवेशनको सन्दर्भमा शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनले दुग्ध क्षेत्रको वर्तमान अवस्था, चुनौती र भावी कार्यदिशाबारे जानकारी गराएको हो।

२०५५ साल माघ ७ गते स्थापना भएको एसोसिएसन हाल देशभर ७ प्रदेश, २७ जिल्ला र विभिन्न पालिकामा फैलिएको दुग्ध उद्योगी तथा व्यवसायीहरूको साझा राष्ट्रिय संगठन का रूपमा स्थापित भइसकेको जनाएको छ। महाधिवेशनमा मेचीदेखि महाकालीसम्मका दुग्ध उद्योगीहरूको सहभागिता रहने र दुग्ध क्षेत्रका नीतिगत विषयमा गम्भीर छलफल हुने एसोसिएसनले जनाएको छ।

पत्रकार सम्मेलनमा एसोसिएसनले स्वदेशी दुग्ध उत्पादन प्रवर्द्धनका लागि दुग्ध पदार्थमा लगाइँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट गर्नुपर्ने, अनौपचारिक बजार नियन्त्रण, उद्योग मर्जर नीति प्रोत्साहन, अनुदान वितरणलाई उत्पादनस्तर उन्नतिसँग जोड्नुपर्ने तथा सहुलियत दरको कर्जा १० करोड रुपैयाँसम्म उपलब्ध गराई प्रभावकारी अनुगमन गर्नुपर्ने माग अघि सारेको छ।

एसोसिएसनका अनुसार हाल दुग्ध क्षेत्रमा करिब ६० अर्ब रुपैयाँ निजी क्षेत्रको लगानी, ७ लाख कृषक परिवारको संलग्नता, ४० हजार जनाको प्रत्यक्ष रोजगारी, दैनिक ६ करोड रुपैयाँ शहरबाट गाउँतर्फ प्रवाह तथा कुल गार्हस्थ उत्पादनमा करिब ९ प्रतिशत योगदान रहेको छ। यस अवस्थामा वैदेशिक लगानीभन्दा पनि आधुनिक प्रविधि भित्र्याउँदै स्वदेशी उद्योगलाई राज्यले प्राथमिकताका साथ सहयोग गर्नुपर्ने धारणा एसोसिएसनले राखेको छ।

माघ ७ गते एसोसिएसनको स्थापना दिवससमेत परेकाले संस्थापक सदस्यहरूको योगदानलाई सम्मानपूर्वक स्मरण गरिने पनि जानकारी दिइएको छ। पत्रकार सम्मेलनमा एसोसिएसनले उठाएका विषयलाई तथ्यपरक र सन्तुलित रूपमा सम्प्रेषण गर्न सञ्चार माध्यमसँग आग्रह गर्दै दुग्ध क्षेत्रको सुदृढीकरणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ।