काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिन्धुली निर्वाचन क्षेत्र नं. २ बाट यातायात तथा पूर्वाधार क्षेत्रका विज्ञ आशिष गजुरेल लाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ।
यातायात तथा पूर्वाधार विकासमा लामो अनुभव हासिल गरेका गजुरेल यसअघि नेपाल इन्टरमोडल यातायात विकास समिति का कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। रास्वपाबाट उम्मेदवार बन्ने निर्णय भएसँगै उनले उक्त पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन्।
गजुरेल लामो समयदेखि देशको यातायात प्रणाली सुधार, पूर्वाधार सुदृढीकरण तथा सुरक्षित र दिगो यातायात प्रवर्द्धनका पक्षमा सक्रिय रूपमा काम गर्दै आएका व्यक्ति हुन्। नीति निर्माणदेखि कार्यान्वयन तहसम्मको व्यावहारिक अनुभवका कारण उनलाई यातायात तथा पूर्वाधार क्षेत्रको सुधार अभियन्ताका रूपमा चिनिने गरिएको छ।
सिन्धुली–२ गजुरेलको गृह निर्वाचन क्षेत्र हो। स्थानीय आवश्यकता र सम्भावनालाई नजिकबाट बुझेका प्राविधिक विज्ञलाई अघि सार्दै रास्वपाले विकास र सुशासनलाई केन्द्रमा राख्ने स्पष्ट सन्देश दिन खोजेको बताइएको छ। संसदमा नयाँ सोच, प्राविधिक दृष्टिकोण र परिणाममुखी नीति निर्माणको उद्देश्यसहित पार्टीले गजुरेललाई उम्मेदवार बनाएको हो।
