काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेपलाञ्चोक क्षेत्र नं २ बाट मधुप्रसाद आचार्यलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ। लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय आचार्य काभ्रे जिल्लामा शालीन, सादगी र जनउत्तरदायी नेताका रूपमा परिचित छन्।
कांग्रेसको संगठन निर्माणदेखि नीति–निर्माणसम्म प्रभावशाली भूमिका खेलेका आचार्य केन्द्रसम्म राम्रो पहुँच भएका, सबैसँग समन्वय गरेर काम गर्न सक्ने नेताका रूपमा चिनिन्छन्। काभ्रेका जनताको सुख–दुःखमा सधैँ साथ दिँदै आएका आचार्य अहिलेसम्म कुनै पनि विवादमा नजोडिनु उनका लागि थप विश्वासको आधार बनेको छ।
पार्टीभित्र मात्र होइन, आम नागरिकबीच पनि सकारात्मक छवि बनाएका आचार्य विकास, सुशासन र लोकतान्त्रिक मूल्य–मान्यताका पक्षधर हुन्। “सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस” भन्ने भावनालाई व्यवहारमा उतार्ने नेता भनेर समर्थकहरूले उनलाई मूल्यांकन गर्दै आएका छन्।
कांग्रेसको झण्डामुनि काभ्रेपलाञ्चोक–२ बाट आचार्यको उम्मेदवारी सिफारिस भएपछि जिल्लामा उत्साह थपिएको छ। स्थानीयस्तरमा उनको उम्मेदवारीले पार्टीलाई थप मजबुत बनाउने र जनताको विश्वास अझै बलियो बनाउने अपेक्षा गरिएको छ।
