महिला नेतृत्वको उदाहरण : लक्ष्मी बस्नेत कार्की निर्वाचित

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको एशोसिएट समन्वय समितिको प्रतिनिधि सदस्यमा लक्ष्मी बस्नेत कार्की निर्वाचित भएकी छन्। शुक्रबार सम्पन्न महासंघको १३औँ साधारण सभाबाट उनीसहित ३९ जना प्रतिनिधि सदस्य निर्वाचित भएका हुन्। निर्माण व्यवसायजस्तो चुनौतीपूर्ण क्षेत्रमा महिलाको उपस्थितिलाई थप बलियो बनाउँदै बस्नेतको यो सफलता उदाहरणीय मानिएको छ।

सागर कन्स्ट्रक्सन प्रा.लि. तथा आरुष कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. की संस्थापक तथा प्रबन्ध निर्देशक रहेकी बस्नेत हाल महासंघको एशोसिएट कोषाध्यक्षको जिम्मेवारीमा समेत रहेकी छन्। विगत १६ वर्षदेखि निर्माण व्यवसाय क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी उनले आफ्नो मेहनत, धैर्यता र व्यावसायिक क्षमताका कारण सफल उद्यमीको पहिचान बनाएकी छन्।

निर्माण व्यवसायलाई परम्परागत रूपमा पुरुषप्रधान क्षेत्र मानिँदै आए पनि बस्नेतले महिलाले पनि पुरुषसरह हिम्मत, साहस र नेतृत्व क्षमता देखाउन सक्छन् भन्ने कुरा व्यवहारमै प्रमाणित गरेकी छन्। उनले निर्माण क्षेत्रका समस्या, नीतिगत सुधार र व्यवसायीहरूको आवाज राज्यस्तरसम्म पुर्‍याउन आफू सधैं प्रतिबद्ध रहेको बताउँदै आएकी छन्।

आगामी महाधिवेशनमा समेत सक्रिय भूमिका खेल्ने तयारीमा रहेकी बस्नेत महिलाहरूका लागि प्रेरणाको स्रोत बनेकी छन्। “महिला आत्मनिर्भर, सक्षम र नेतृत्वदायी हुन सक्छन्” भन्ने सन्देश निर्माण व्यवसायमार्फत समाजमा प्रवाह गर्न सफल बस्नेत आज नारी सशक्तीकरणको जीवित उदाहरणका रूपमा चिनिन थालेकी छन्।