प्लाष्ट नेपाल फाउन्डेशनको ११ औँ वार्षिक साधारण सभा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। साधारण सभामा प्लाष्टिक उद्योगको वर्तमान अवस्था, चुनौती र सम्भावनाका विषयमा सरोकारवालाहरूले धारणा राखेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै सचिव घिमिरेले नेपालमा प्लाष्टिकको प्रयोग र महत्व दिनप्रतिदिन बढ्दै गए पनि प्लाष्टिकप्रतिको सामाजिक बुझाइमा अपेक्षित परिवर्तन आउन नसकेको बताए। प्लाष्टिक भन्नेबित्तिकै घातक भन्ने धारणा हाबी हुँदा यस क्षेत्रमा आबद्ध उद्योगी–व्यवसायीले विभिन्न समस्या भोग्नुपरेको उनको भनाइ थियो। “विश्वका विकसित मुलुकहरूमा प्लाष्टिक उद्योगले जीडीपीमा राम्रो योगदान गरिरहेको छ,” उनले भने, “नेपालमा पनि यसको वैज्ञानिक र जिम्मेवार प्रयोगमार्फत यस क्षेत्रको विकास र विस्तार गर्न सकिन्छ, त्यसका लागि आवश्यक नीतिगत सुधार गर्न सरकार सधैँ तयार छ।”
प्लाष्ट नेपाल फाउन्डेशन स्पष्ट सोचका साथ अघि बढेकाले यसले आगामी दिनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू आशावादी रहेको सचिव घिमिरेले बताए। प्लाष्टिक उद्योगले रोजगारी सिर्जना, अर्थतन्त्र र पूर्वाधार विकासमा पुर्याएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनले उद्योगलाई समयअनुकूल रूपान्तरण (ट्रान्सफर्म) गर्न र अनुसन्धान तथा विकास (आर एन्ड डी) मा लगानी बढाउन उद्योगीहरूलाई आग्रह गरे।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्र पाण्डेले प्लाष्टिकजन्य वस्तुको उत्पादन, प्रशोधन, मेसिनरी, कच्चा पदार्थलगायत नीतिगत विषयमा प्लाष्ट नेपाल फाउन्डेशनले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए। उनले हाल मुलुकको अर्थतन्त्र गम्भीर संकटबाट गुज्रिरहेको, बैंकिङ प्रणालीमा तरलता भए पनि कर्जा प्रवाह बढ्न नसकेको र व्यवसायीमा निराशा देखिएकोप्रति चिन्ता व्यक्त गरे। “मूल्य वृद्धि न्यून छ, लगानी बढ्न सकेको छैन र व्यवसायीहरू अझै ‘पर्ख र हेर’को अवस्थामा छन्,” उनले भने। निर्वाचनपछि राजनीतिक स्थायित्व, सुशासन र भ्रष्टाचाररहित वातावरण निर्माण भएसँगै अर्थतन्त्रमा सुधार आउने अपेक्षा गरिएको उनको भनाइ थियो।
नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष उर्मिला श्रेष्ठले प्लाष्टिकजन्य उद्योगलाई नेपालको औद्योगिक क्षेत्रको आधारस्तम्भको रूपमा वर्णन गरिन्। प्लाष्टिकजन्य वस्तुहरूको वार्षिक आयात अर्बौँ रुपैयाँको रहेको उल्लेख गर्दै उनले स्वदेशी उद्योगले आयात प्रतिस्थापन गर्न सके अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताइन्।
नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष भरत आचार्यले प्लाष्टिक उद्योगले राष्ट्रिय स्तरमा पुर्याएको योगदान र यसप्रति राज्य तथा समाजको दृष्टिकोणबारे धारणा राखे। प्लाष्टिकलाई केवल वातावरणीय नकारात्मकतासँग मात्र जोडेर प्रचार गरिने तर रोजगारी, पूर्वाधार विकास र आर्थिक योगदानलाई ओझेलमा पारिने प्रवृत्तिप्रति उनले आपत्ति जनाए। प्लाष्टिक उद्योग विकासका लागि स्पष्ट र स्थिर नीतिको खाँचो रहेको उनको जोड थियो।
कार्यक्रममा इण्डियन आयल कर्पोरेशनका महाप्रबन्धक अतुल के. जोशीले प्लाष्टिकजन्य वस्तुको विश्व बजार, उत्पादन अवस्था र भविष्यका सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरे। रूस–युक्रेन युद्धदेखि हाल अमेरिका र भेनेजुयलाबीचको तनावले विश्व अर्थतन्त्रमा उतारचढाव ल्याएको र त्यसको असर प्लाष्टिक उद्योगमा पनि परेको उनले बताए। उत्पादनमा गिरावट र मूल्यमा आएको तीव्र उतारचढावले भारतीय प्लाष्टिक उद्योग प्रभावित भएको उल्लेख गर्दै उनले निकट भविष्यमा नेपाल र सीमावर्ती भारतीय बजारलाई लक्षित गरी भारतको वरौनीमा प्लाष्टिक कच्चा पदार्थ उद्योग स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए।
प्लाष्ट नेपाल फाउन्डेशनका अध्यक्ष विवेक कुमार ताटेडले ११ वर्षको अवधिमा फाउन्डेशनलाई स्थापित पहिचान दिन सफल भएको बताए। शान्ति सुरक्षाको अवस्था, स्थानीय बजारबाट पूँजी उठाउन कठिनाइ र उद्योग सञ्चालनमै चुनौती देखिएकाले उद्योग पूर्ण क्षमतामा चल्न नसकेको उनको भनाइ थियो। “स्थानीय उद्योगलाई सुरक्षा र मनोबल दिनु आजको आवश्यकता हो,” उनले भने।
फाउन्डेशनका उपाध्यक्ष विनित कुमार अग्रवालले “No Plastic होइन, Know To Plastic” भन्ने नारालाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। विश्वभर सन् २०२५ सम्म करिब ५०० मिलियन टन प्लाष्टिक उत्पादन भइसकेको र सन् २०५० सम्म यसको प्रयोग ८०० मिलियन टन पुग्ने अनुमान रहेको उल्लेख गर्दै प्लाष्टिकको विकल्प खोज्नुभन्दा यसको जिम्मेवार प्रयोग र व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले बताए।
