काठमाडौँ / नेपालमा आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लिएर अन्तर्राष्ट्रिय स्तरको अनलाइन भविष्यवाणी बजारमा लाखौको सट्टेबाजी भइरहेको पाइएको छ। विश्वकै ठूलो ‘प्रेडिक्सन मार्केट’ (भविष्यवाणी बजार) मानिने ‘पोलिमार्केट’ मा नेपालको चुनावको नतिजालाई लिएर क्रिप्टोकरेन्सीमार्फत बाजी राख्ने क्रम बढेको हो।
डिजिटल मञ्चमा चुनावी दाउपेच क्रिप्टोकरेन्सीमा आधारित यो मञ्चमा नेपालको निर्वाचनलाई लिएर एउटा छुट्टै बजार सञ्चालनमा ल्याइएको छ। गत डिसेम्बर ८, २०२५ मा सिर्जना गरिएको यो बजारले नेपालको आगामी निर्वाचनमा कुन राजनीतिक दलले सबैभन्दा बढी सिट जित्ला भन्ने विषयमा भविष्यवाणी गर्न अनुमति दिन्छ। हालसम्म उक्त मञ्चमा करिब १० हजार २ सय ६ अमेरिकी डलरको कारोबार भइसकेको देखिएको छ। निर्वाचन आयोगको आधिकारिक नतिजाका आधारमा आगामी मार्च ५, २०२६ सम्म यो बजार कायम रहने उल्लेख छ।
कसरी हुन्छ सट्टेबाजी र कुन दलको सम्भावना कति? पोलिमार्केट एउटा विकेन्द्रीकृत मञ्च हो, जहाँ प्रयोगकर्ताहरूले वास्तविक घटनाको सम्भावित नतिजामा पैसा लगानी गर्छन्। यस मञ्चमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमुक्ति पार्टीका विकल्पहरू उपलब्ध गराइएको छ।
लगानीकर्ताहरूले कुनै निश्चित दलको पक्षमा ‘हो’ (Yes) वा विपक्षमा ‘होइन’ (No) भन्दै सेयर खरिद गर्छन्। हालको प्रवृत्तिअनुसार रास्वपाले सबैभन्दा धेरै सिट जित्ने सम्भावना ५७ प्रतिशत देखाइएको छ भने नेपाली कांग्रेसको २२ प्रतिशत, नेकपा एमाले र एकीकृत समाजवादीको समान ११ प्रतिशत सम्भावना प्रक्षेपण गरिएको छ। यो कारोबारमा ‘स्टेबल कोइन’ (स्थिर मूल्य भएको क्रिप्टोकरेन्सी) को रूपमा परिचित ‘यूएसडीसी’ (USDC) प्रयोग हुने गरेको छ।
लगानीको जोखिम र प्रतिफलको चक्र यो प्रक्रियालाई अनलाइन जुवाको एउटा आधुनिक रूप मान्न सकिन्छ। यदि कसैले अनुमान गरेको दलले सबैभन्दा बढी सिट जितेमा उसले खरिद गरेको सेयर प्रतिसेयर १ डलरमा परिणत हुन्छ, जबकि गलत भविष्यवाणीको मूल्य शून्य हुन्छ। उदाहरणका लागि, कसैले कुनै दलको सेयर ३० सेन्टमा किन्यो र सो दल विजयी भयो भने उसलाई प्रतिसेयर ७० सेन्ट नाफा हुन्छ। यद्यपि, गलत पूर्वानुमान भएमा लगानीकर्ताको सम्पूर्ण पुँजी डुब्ने जोखिम पनि उत्तिकै रहन्छ।
कानुनी अड्चन र निर्वाचन आयोगको चेतावनी नेपालको कानुनले यस प्रकारका अनलाइन सट्टेबाजी र भविष्यवाणीलाई पूर्णतः प्रतिबन्ध लगाएको छ। निर्वाचन आयोगले पनि यस्ता गतिविधिलाई निर्वाचन ऐन र आचारसंहिता विपरीत भएको ठहर गरेको छ। आयोगका सहायक प्रवक्ता कुल बहादुर जिसीका अनुसार, आचारसंहिता विपरीतका यस्ता गतिविधि भइरहेको पाइएमा आयोग वा जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने र आयोगले आवश्यक कानुनी कदम चाल्ने बताउनुभयो।
तर, पोलिमार्केट अन्तर्राष्ट्रिय सञ्जालमा सञ्चालित र ब्लकचेन प्रविधिमा आधारित विकेन्द्रीकृत मञ्च भएकाले यसको सिर्जनाकर्ता र लगानीकर्तालाई प्रत्यक्ष रूपमा नियन्त्रण गर्न प्राविधिक चुनौती रहेको विज्ञहरू बताउँछन्।
तस्बिर: एआइ
